कम्युनिस्ट नेताको बयानः बुद्ध सबैभन्दा क्रान्तिकारी विचारक

पुरूषोत्तम पौडेल
१२ जेष्ठ २०७८, बुधबार
हामीले बाल्यकालमा भगवान गौतम बुद्धको नाम सुनेका थियौ । तिन कक्षामा गौतम बुद्धको बारेमा थोरै पढ्न पाइएको थियो । राजा सुद्धाधन लुम्बीनीका राजा थिए । उनका जेठा छोरा राजकुमार सिध्दार्थ गौतम थिए । तिनै सिध्दार्थ गौतमले राजपाठ सुखसयल त्याग गरे । निकै लामो तपस्या गरेर ज्ञान प्राप्त गरे । ज्ञान प्राप्त गरे पछि उनी संसार प्रसिद्ध महात्मा बुद्ध भए ।
सिध्दार्थ गौतम अर्थात् महात्मा गौतम बुद्ध । अहिंसा परमोधर्मका प्रवर्तक । ज्ञान, ध्यान र विवेकका प्रतिमूर्ति । त्याग, तपस्या र महानताको विशिष्ट परिचय । प्रेम, सद्भाव र विनयका साक्षात अवतरण । शान्तिका अग्रदुत । एशियाका तारा । गौतम बुद्धलाई अनेक अनेक विशिष्ट परिचयले विभुषित गरिएको छ । साँच्चै भन्ने हो भने गौतम बुद्ध त्यतिखेरका सबैभन्दा क्रान्तिकारी विचारक थिए ।
२०५४ सालमा मलाई श्रीलंका र थाइल्याण्डको भ्रमण गर्ने अवसर मिल्यो । दुवै देशमा बौद्ध धर्मावलम्वीहरूको बाहुल्यता रहेछ । नेपालबाट भन्ने बित्तिकै उनीहरूको पहिलो चासो महात्मा वुध्द र लुम्वीनीकै हुँदोरहेछ । उनीहरूको व्यापक चासो र चर्चाले हामीलाई समेत घचघच्याउने काम गर्यो । त्यसले गौतम वुध्द र लुम्वीनीको बारेमा अध्ययन गर्न प्रेरणा दियो । बुध्द धर्मको बारेमा जान्ने बुझ्ने कौतुहलता जाग्नुको साथै संसारको नजरमा बुध्द धर्म र लुम्बिनी प्रतिको आस्था र लगावको बारेमा बुझ्न उत्प्रेरणा मिल्यो । त्यसपछि लुम्वीनी घुमेर केही अध्ययन गर्ने काम गरेँ ।

बुद्धं शरणम् गच्छामिः, धम्मम शरणम् गच्छामिः, संघम् शरणम् गच्छामिः । अर्थात् म बुद्धको शरणमा जान चहान्छु । म धर्मको शरणमा जान चाहान्छु । म संघको शरणमा बाँच्न चाहन्छु । अझ यसको मतलव म अहिंसालाई आदर्श मान्छु । परोपकारमा रमाउनु चहान्छु । म सत्कर्म गर्न रूचाउँछु । म धर्ममा डुब्न चाहन्छु । म यो संसारिक जीवनलाई समूहमा सामेल गरेर बाँच्न चाहन्छु । म संघ (संगठन या समाज)मा रहेर रमाउन चाहन्छु । यी मन्त्रहरू बौध्द धर्म र महात्मा बुध्दको प्रसंगमा सबभन्दा बढी पढिने मन्त्रहरू हुन् ।
यस धम्मो सनंतनोः अर्थात यो नै सनातन धर्म हो । यो नै हामीले लिने उचित बाटो हो । महात्मा बुद्धले अघि सार्नुभएको बाटो नै यथार्थमा धर्मको बाटो हो । यो धर्मको बाटो पुजापाठ र कर्मकाण्डमा आधारित होइन । यो धर्मको बाटो सबै खाले धार्मिक अतिबाट अलि पर छ । एकदम सुस्पष्ट छ । अहिंसा परमोधर्म यसको पहिलो मन्त्र हो । सत्यमाथि विश्वास अर्थात सत्यम वदः यसको अर्को सुन्दर मन्त्र हो । दुःखबाट पार लगाऊ अर्थात् दुःखीहरूको सेवा गर । अर्को महत्वपूर्ण मन्त्र हो । वुध्द धर्मका आधारहरू यिनै हुन् । रियलमा जसले बुद्ध र बुद्ध धर्मलाई जान्दैन, उसले दुनियाँमा केही पनि जान्दैन । जसले बुद्धको उपदेशलाई वुझ्दैन उसले केही पनि बझ्दैन ।
गौतम बुद्धलाई हामी महात्मा भन्दछौ । कतिपयले स्वामी बुद्ध भनेर सम्वोधन गर्दछन् । उनी महात्मा र स्वामीजी मात्र होइनन् । गौतम बुद्ध अवतारहरूका पनि अन्तिम अवतार हुन । वुध्द पछि कुनै प्रलयकुल अवतार हुनेवाला छैन । चाहे हिन्दु धर्मको लागि होस् । चाहे बौद्ध धर्मावलम्वीहरूको लागि होस् । गौतम बुद्ध दुवैको लागि महान वरदान हुन् । गौतम बुद्ध नेपालमा जन्मेका महामानव हुन् । अहिंसाका पुजारी पनि हुन् । विश्व शान्तिका अग्रदुत हुन् । बुद्ध नेपाल र भारतबीचको मित्रता, प्रेम र सद्भावका सुत्राधार पनि हुन । बुद्ध आफैमा धर्म, कर्म र पुण्यका पर्याय हुन ।
गौतम बुद्धको जन्म ईसा पूर्व ५६३ को वैशाख पूर्णिमाको दिन नेपालको लुम्बिनीमा भएको थियो । संयोग वैशाख पूर्णिमा को दिन बुद्धले ईसापूर्व ५२८ मा वोधगयामा सत्य र ज्ञान प्राप्त गर्नु भएको थियो । ईसा पूर्व ४८३ मा ८० वर्षको उमेरमा यहि वैशाख पूर्णिमाकै दिन कुशीनगरमा उनको देहावसान पनि यो । यो एउटा अचम्मको संयोग परेको छ । उनको जन्म, ज्ञान प्राप्ती र देहावसान एउटै तिथी वैशाख पूर्णिमाको दिन परेको छ ।
आज भन्दा करिव २५०० वर्ष पहिले गौतम बुद्धको जन्म नेपालको लुम्बिनी वनमा भएको थियो । उनको आमा महामाया देवी कपिलवस्तुकी महारानी थिइन् । एक दिन महामाया आफ्नो माइत देवदह जाँदै थिइन् । जाँदाजादै बाटोमा उनलाई एक्कासी व्यथा लाग्यो र लुम्बिनीको वनमा सिध्दार्थ गौतमको जन्म भयो । कपिलवस्तु र देवदहको बीचमा रहेको विशाल वनलाई नै लुम्बिनीको वन भनिन्थ्यो । त्यही जंगलमा यी महान त्यागी राजकुमारले जन्म लिएका हुन् ।
लुम्विनीको वनमा जन्मिएको बालक जन्मदै विलक्षण देखिएका थिए । सातदिन पुग्दा नपुग्दै हिड्न तयार भएका थिए । यी बालकको नाम सिद्धार्थ गौतम राखिएको थियो । सिद्धार्थ गौतमका पिता महाराज सुद्धोधन कपिलवस्तुका आदर्श राजा थिए । उनी कपिलवस्तु राज्यमा मात्र होइन, आसपासका सवै भूभाग र पुरै भारत वर्षमा सम्मानित थिए । सिद्धार्थ गौतम जन्मेको सातौ दिनमा माहारानी महामायाको देहावसान भयो । उनको लालनपालन तथा स्याहार सुसार उनको सानीमा गौतमीले गरेकी थिईन ।
सिध्दार्थ गौतम वाल्यकालदेखि नै तिक्ष्ण बुद्धिका थिए । उनको शिक्षादिक्षामा कुनै कमी थिएन । राज्यमा उपलब्ध सवै विद्वानहरू उनका लागि उपलब्ध थिए । गौतमले थुप्रै घघडान विद्वानहरूलाई आफ्नो गुरु बनाउन भ्याएका थिए । उनले गुरु विश्वामित्रसँग वेद र उपनिषद्को अध्ययन गरेका थिए । उनले विश्वामित्रवाटै राजकाज तथा युद्धविद्याको समेत शिक्षा प्राप्त गरेका थिए । उनी कुश्ती, घोडादौड़, तीर कमान र रथ हाँक्ने विद्यामा समेत पारङ्गत थिए । यति मात्र होइन, थुप्रै खेल कलाहरूमा पनि सिध्दार्थ गौतमको जोडी थिएनन् ।
वैदिक कालमा विषेश गरी दुई प्रकारको धार्मिक वादले मान्यता पाएको देखिन्छ । ब्राह्मणवाद र श्रमणवाद । ब्राह्मणहरु वेदमा विश्वास गर्थे भने श्रमणहरु अवैदिक थिए । श्रमणहरु आस्तिक र नास्तिक दुवै थिए । श्रमणहरु ब्रह्मचर्य पालन गर्थे तर ब्राह्मणहरु गृहस्थ थिए । उनीहरू वैदिक विधि अनुसार मन्त्र, जप, दान, होम आदि अनुष्ठान गर्थे । होम आदिमा पशु वलिको प्रथा फस्टाएको थियो । विधिपूर्वक हुने वली भएकोले यसलाई हिंसा मानिदैन थियो । पुरोहितहरु समाजमा उच्च वर्गमा गनिन्थे । विस्तारै वर्णाश्रम व्यवस्था फस्टाएर गएको थियो । ब्राह्मणहरु विस्तारै सम्पत्ति र विलासी जीवनको मोहमा फस्दै गए । धर्मको डर, त्रास देखाएर मानिसबाट अनुचित दानहरू माग्थे र ठगी गर्थे ।
आम मानिसहरू समाज र दार्शनिक जगतमा व्याप्त विभिन्न वाद र मतको अराजकताबाट छुटकारा चाहिरहेका थिए । जन चाहनाको यहि तथ्यबाट गौतम बुद्धले मध्यमार्गी धार्मिक र दार्शनिक धार प्रतिपादन गरेका थिए । समाजमा हिंसा विरोधी मत बलियो देखिन थालेको थियो । होम तथा अनुष्ठान या यज्ञको नाममा हुने हिंसाको औचित्यतामाथि प्रश्न उठ्न थालिसकेको थियो । होमादिबाट जीवनले मुक्ति पाउने होइन रहेछ भनेर मानिसहरूमा चेतना जागृत हुन थालेको थियो । मानिसहरु विस्तारै कर्मकाण्डभन्दा पनि विभिन्न दार्शनिक प्रश्नमा विचार विमर्श गर्न थालेका थिए । ठिक यसै परिवेशमा गौतम बुद्धको जन्म भएको थियो । गौतम बुद्धले यसै आधारमा आफ्नो ज्ञानको विकास र विस्तार गरे । जसले उनलाई आफ्नो युगको महापुरूषको रूपमा स्थापित गर्यो ।
बुद्धले आफुले प्रदान गर्ने शिक्षालाई धम्म विनय भन्ने गरेका थिए । विनय भन्नाले भिक्षुहरूका लागि बनाइएको नियमहरूको सङ्ग्रह बुझ्नु पर्दछ । धम्म भन्नाले गृहस्थ र भिक्षु सबैको दुख मुक्तिका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझ्नु पर्दछ । गौतम बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा सङ्ग्रहित गरेर छापिएको छ । जसमा गौतम बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार सुन्दर सुत्रहरू सङ्ग्रहित छ्न् ।
महात्मा बुद्ध दुख मुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्त्व दिदैंनथे । उनी भन्दथे, ‘भिक्षुहरू म दुई कुरा मात्र सिकाउँछुः दुःख र दुःख मुक्तिको उपाय ।’ बुद्धको प्रयोगात्मक शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने गरिएको छ । शील, समाधि र प्रज्ञा । शील भनेको नैतिकता र सदाचार हो । अर्थात शरिर र वचनले अरूलाई चोट पुर्याउने काम नगर्नु हो । बुद्धले विभिन्न शीलको चर्चा गर्नु भएको छ । त्यस मध्ये बुद्धले गृहस्थहरूका लागि पञ्चशीलको प्रस्ताव गर्नु भयो । प्राणी हिंसा नगर्नु , चोरी नगर्नु , झुटो नहोल्नु, व्यभिचार नगर्नु र लागूपदार्थ सेवन नगर्नु, यीनै पाँच शील हुन् ।
शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै प्रज्ञा उत्पन्न गराउन सकेमा नै दुख मुक्तिको लागि निर्वाणसँग साक्षात्कार गर्न सकिन्छ । अर्थात् प्रज्ञाको अर्थ प्रत्यक्ष ज्ञान हो, जुन आफ्नो अनुभूतिद्वारा थाहा हुन्छ । अझ सम्यक समाधीको अभ्यासबाट नै भावनामयी प्रज्ञा जागृत हुन्छ । यही नै बुद्धको मूल शिक्षा हो । यही दुख मूक्तिको मार्ग हो । यसरी शील, समाधि र प्रज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्य लाई पूर्ण रूपले बुझ्दै जान सकिन्छ ।
चार आर्यसत्यहरू यस प्रकार छन । १) दुख सत्यः दुख छ । दुख हुन्छ भन्ने कुरा र यसको अवस्थाको आफैले बोध गर्नु, २) दुखको कारण सत्यः दुखको निश्चित कारण हुन्छ । दुखको मुल कारण आशक्ति र अन्ततः अविद्या हो भन्ने कुराको बोध गर्नु, ३) दुखको निवारण सत्यः दुखको अन्त्य हुन्छ भन्ने कुरालाई बुझ्न सक्नु र यसलाई साक्षात्कार गर्न सक्नु, ४) दुखको निवारणको मार्ग सत्यः दुखको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना गर्नु पनि अर्को सत्य हो । आर्य अष्टांगिक मार्गलाई शील, समाधि र प्रज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ । यसरी बुद्धले सत्यहरूको उजागर गर्ने गरेका थिए ।
महात्मा गौतम बुद्ध आफुले प्राप्त गरेका ज्ञानहरूको आफै प्रचार गर्थे । आफ्ना अनुभव र अनुभूतिहरूलाई शिष्यहरूका विचमा प्रयोग गरेर देखाउने गर्दथे । एक दिन भगवान बुद्ध आफ्नो नियमित सभामा पुगेका थिए । त्यसबेला उनको हातमा डोरीको टुक्रा थियो । महात्मा बुद्ध आसन ग्रहण गरेर केहि नभनी डोरी गाँठो पार्न थाले । त्यहाँ पर्खिरहेका उनका थुप्रै शिष्यहरू थिए । गौतम बुद्धले डोरीलाई गाँठो पारिरहेको देखेपछि उनीहरुमा जिज्ञासा उठ्न थाल्यो । अब बुद्धले के गर्ने हुन् ? किन डोरी बाटिरहेको होला ?
ठिक त्यसैवेला गौतम बुद्धले सबैलाई एउटा प्रश्न गरे । मैले यो डोरीको तीनवटा गाँठो बनाए । अब म यो जान्न चाहन्छु कि, यो त्यही डोरी हो त ? जो गाँठो पार्नु अघि थियो ? एक शिष्यले तत्काल उत्तर दिए ।
गुरुजी यसको उत्तर दिनु अलिकति कठिन छ । वास्तवमा यो हाम्रो हेराइमा निर्भर गर्छ । एउटा दृष्टिकोणबाट हेर्दा, डोरी त्यही हो । यसमा कुनै खास परिवर्तन भएको छैन । अर्को दृष्टिकोणबाट हेर्ने हो भने यसमा तीन वटा गाँठो देखिन्छ । जो पहिला थिएन । त्यसैले नयाँ पनि हो ।
कुरा साँचो हो । बुद्धले भने, ‘अब म यो गाँठोलाई खोल्नेछु ।’
त्यति भनेर बुद्धले डोरीको दुबै छेउमा समातेर जोडले तान्न लागे । उनले सोधे, तिमीहरुलाई के लाग्छ, यस प्रकार डोरीलाई दुई तर्फबाट तान्दा गाँठो फुत्किएला ?
होइन, होइन । त्यसो गर्नुभयो भने त त्यो गाँठो झन कसिलो बन्छ । पछि यसलाई खोल्न झन मुश्किल पर्छ । अर्का शिष्यले जवाफ दिए ।
अनि बुद्धले भने, ठिक छ, अब एउटा अन्तिम प्रश्न छ । लौ भन त, यो गाँठोलाई खोल्नका लागि हामीले के गर्नुपर्ला ?
तुरून्त एक जना शिष्यले उत्तर दिए, ‘गुरुजी, यसका लागि हामीले के हेर्नु पर्छ भने गाठो कसरी पारिएको छ । गाठोको अवस्थाले नै खोल्ने तरिका पनि बताइदिन्छ ।’
‘म यहि सुन्न चाहन्थें । मूल प्रश्न यही हो । जुन समस्यामा तिमी फसेका छौ । वास्तवमा त्यसको कारण के हो ? पहिला त्यो पत्ता लगाउनु पर्दछ । कारण नै पत्तो नलगाई त्यसको समाधान सम्भव छैन ।’ सबभन्दा पहिले समस्याको कारण नै खोज्नु पर्छ । भन्दै गए, ‘मैलें धेरै जसो मान्छेहरूले कुनै पनि समस्याको कारण नै नबुझी त्यसको समाधान खोजिरहेको देख्ने गरेको छु । कतिपयले त मलाई किन रिस उठ्छ ? भनेर सोध्ने गर्छन । कतिपय मानिसहरु आफ्नो रिसलाई कसरी काबुमा राखौं ? भनेर सोध्छन् । कोहि यस्तो पनि सोध्ने गर्छन, मभित्र अहंकार कसरी उब्जियो ? कारण खोजौ न ।’
महात्मा वुध्द भन्छन– ‘प्रिय शिष्यहरू, जसरी डोरीमा गाँठो पारेर त्यसको प्रकृति बदलिँदैन, त्यही प्रकार मनुष्यमा पनि केहि विकार आउँछ, तर ऊ भित्रको तत्व उहि रहिरहन्छ । आवश्यकता के छ भने, कुनै पनि समस्याको कारण राम्ररी जान्नु पर्दछ । जब कारण फेला पर्छ तबमात्र त्यसको निवारण पनि सहज हुन्छ ।’
त्यसरी बुद्धले आफ्नो ज्ञानको प्रचार गरिरहे । दुनियाँभरका अहिंसा र न्यायका पक्षपातीहरूको मनमा छाइरहे । अहिलेसम्म अरवौं अर्ब मानिसहरूको मनमा छाइरहेका छन् । अन्ततः ईसा पूर्व ४८३ मा महात्मा बुद्धले भारतको कुशिनगरमा महानिर्वाण प्राप्त गरे ।
लेखक पौडेल नेपाल सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री हुन् ।