१२ जेष्ठ २०८०, शुक्रबार

बुद्ध लोकतान्त्रिक मुल्यका प्रतिवद्ध प्रतिरक्षक


टंक कार्की
१२ जेष्ठ २०७८, बुधबार

आज २५६५ औं बुद्ध जयन्ति । ति महामना द्रष्टा प्रति श्रद्दासुमन ! भवंतु सर्व मङ्गलम ! बुद्धका विचारबाट लाभान्वित हुन सकौं !

बुद्धको विचार थियो दुःख सर्वव्यापि छ । यो बिनासित्ती भएको होइन, यो त परिणाम मात्रै हो जसका कारण छन्, ति पनि लौकिक । यो तृष्णा, क्लेश र अविद्याको सह उत्पादन हो । यसबाट मुक्ति सम्भव छ र त्यसको निम्ति परलोक पुगिरहनु पर्दैन । उनले सुल्झाको मुक्ति मार्ग सपाट छ । त्यो प्रज्ञा, शील र समाधि/अनुशिलनबाट प्राप्त गर्न सकिन्छ ।

अघि कतै बौद्ध भिक्षु रिम्पोचे श्रीधर राणाले बडो मर्मभेदी अपिल गरेका छन्, बुद्ध लुम्बिनीमा जन्मेका हुन्, नेपालमा जन्मेका हुन्ः त्यति मात्रै पर्याप्त छैन र बुद्धको प्रतिमा शोकेसमा सजाएर मात्रै बुद्धको सम्मान हुँदैन । बुद्ध के हो जान्नु पर्छ, बुद्धका विचारको सान्दर्भिकता र औचित्य थाहा हुनु पर्दछ ।

यस बारे तल दुईजना विश्व विख्यात चिन्तक, प्राज्ञको मत प्रस्तुत छः
‘भविष्यको अपेक्षित ब्रम्हाण्डीय धर्मका चरित्र बौध धर्म (Buddhism) मा छन् । यो निजात्मक ईश्वरभन्दा माथि छ । यसको जडसुत्र र धर्म शास्त्र (theology) सँग लसपस छैन । यसले प्राकृतिक र अध्यात्मिक दुवै गुण समेटेको छ र यो सारा चराचरको अनुभवबाट निसृत धार्मिक भावमा आधारित छ ।’
‘यदि दुनियाँमा कुनै धर्मले आधुनिक वैज्ञानिक आवश्यकताको सम्बोधन गर्छ भने त्यो बौध धर्म हो ।’
–अल्बर्ट आइन्स्टिन

‘धर्मका संस्थापकहरु मध्ये मेरो सम्मान एउटै व्यक्तिमा मात्र छ, ति हुन् बुद्ध । मुख्य कारण के भने बुद्धले ब्रम्हाण्डको उत्पत्ति बारे कुनै परिपाठ छाटेनन् । बुद्ध मात्रै त्यस्ता श्रष्ठा हुन् जसले ब्रम्हाण्डको चरित्र अनुवोध गरे ।’
–बर्ट्रेण्ड रसेल

बुद्ध लोकतान्त्रिक मुल्यका प्रतिवद्ध प्रतिरक्षक थिए ।
ऊ जमानाको कुरो हो । सिद्धार्थ बुद्ध मगधको राजधानी राजगृहको नजिकै गृध कूट पर्वतमा ठहर्नु भएको थियो। उता मगध नरेश अजात शत्रुले भने वज्जीहरू माथि आक्रमणको योजना बुनीरहेका थिए । त्यो योजनामा बुद्धको राय, सुझाव लिएर मात्रै चढाई गर्ने सोंच नरेशले बनाए । यस प्रयोजनको निम्ति नरेशले आफ्ना प्रधानमन्त्री वर्षाकारलाई बोलाएर भने, ‘वर्षाकार ! तिमी भगवान बुद्ध कहाँ जाऊ र उहाँलाई मेरो तर्फबाट नमन गर्नु र उहाँको कुशल मङ्गल सोधी सके पछि भगवानलाई मगध नरेश वज्जीहरू माथि आक्रमण गर्ने सोंचमा हुनुहुन्छ, तपाईको के राय छ ? भनेर सोध्नु । उनले जे भन्छन् त्यसलाई ध्यानपुर्वक सुन्नु र आएर मलाई जस्ताको तस्तै फेहरिस्त सुनाउनु ।’

वर्षाकार बुद्ध कहाँ गए र उनलाई नमन गरेपछि राजाको सन्देश सुनाए । बगलमा बसेका आनन्दलाई बुद्धले वज्जीहरूलाई आफुले दिएको उपदेशको सम्झना गर्दै सोधेः
१) आनन्द ! मैले वज्जीहरूलाई ऊ बेला सम्झाको थिएँ कि तिमीहरू बेला मौकामा बैठक बस, विना दाउपेंच, विना दवाव खुला खुलस्त छलफल गर, सामुहिक निर्णय लेऊ र कार्यान्वयन गर । आनन्द ! के तिनीहरू यसको अनुशरण गरी रहेका छन् ?’ आनन्दले प्रत्युत्तरमा भने, ‘भगवान ! मलाई सूचना छ कि हजुरको उपदेश उनीहरू आजसम्म जस्ताको तस्तै तामिल गरिरहेका छन् ।’

२) आनन्द ! मैले वज्जीहरूलाई सल्लाह दिएको थिएँ कि कुनै पनि युवतीलाई जोर जवरजस्ती कुलवधु बनाउने काम नगर्नु र महिलाहरूको सम्मान गर्नु । के तिनीहरूले यसको उल्लङ्घन त गरेका छैनन् ?’ आनन्दले विन्ती बिसाए, ‘हो, भगवान मलाई सूचना छ कि हजुरको उपदेश उनीहरू आजसम्म जस्ताको तस्तै तामिल गरिरहेका छन् ।’

३) आनन्द ! मैले वज्जीहरूलाई सम्झाको थिएँ, पाका, वरिष्ट र जेष्ठहरूको आदर सम्मान र मानमनितो राख्नु, उनीहरुका आवश्यकता वारे ख्याल राखी राख्नु ताकि उनमा असन्तुष्टी न आओस् । के कतै यसमा तल वितल भएको त छैन ?’ आनन्दले प्रत्युत्तरमा भने, ‘भगवान ! मलाई सूचना छ कि हजुरको उपदेश उनीहरू आजसम्म जस्ताको तस्तै तामिल गरिरहेका छन् ।’

४) आनन्द ! मैले वज्जीहरूलाई सम्झाको थिएँ कि राज्यमा भ्रमण गर्ने सन्त, सन्यासीहरूको खातिरदारी गर्नु ताकि उनीहरू आकर्षित भई रहुन । उनीहरू समाजमा नैतिक आधार बलियो बनाउने श्रोत हुन् । के बज्जीहरू यो काम गरी रहेका छन् ?’ आनन्दले प्रत्युत्तरमा भने, ‘भगवानबाट उनीहरूलाई जस्तो उपदेश भएको थियो त्यो आजसम्म जस्ताको तस्तै तामिल भएको मलाई सूचना छ ।’

५) आनन्द ! मैले वज्जीहरूलाई सम्झाको थिएँ, तिमीहरूले लोक धर्मको अनुशरण गरिरहनु । के तिनीहरू यो काम आज पनि गरिरहेका छन् ?’ आनन्दले प्रत्युत्तरमा भने, ‘भगवानले उनीहरूलाई जस्तो उपदेश भएको थियो त्यो आजसम्म जस्ताको तस्तै तामिल भएको मलाई सूचना छ ।

अनि भने बुद्धले वर्षाकारलाई भने, ‘त्यसो हो भने वज्जीहरूको अग्रगमनमा कसैले भाँजो हाल्न सक्दैन । तिनको विरुद्धमा कसैले लछारपाटो लाउन सक्दैनन् ।’

(उति अगाडि यति सुसङ्गत लोकतान्त्रिक विचार पूर्वीय विचार प्रणालीमा विद्यमान थियो । यो क्षेत्र त्यसै पछि परेको होइन, जबदेखि तिनको अवसान भयो हाम्रो विकास प्रक्रिया नै सुस्त भयो ।)

लेखक कार्की चीनका लागि पूर्व नेपाली राजदुत हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको