१७ श्रावण २०७८, आईतवार

‘अटल वृक्ष’



रुखले आफुबाट चोईटिएर गएका
बोक्रासँग कहिल्यै गुनासो गरेन
जिस्क्याउदै हावाको झोकासँग बहकिदै टाढिएका
आफ्नै पातसँग पनि गुनासो गरेन
नत आफुसँगै झाङ्गिएर बसेका पातहरूलाई
तितर–बितर पारिदिने हावासँग नै गुनासो गर्यो
बोक्राले धरातल बिर्सिए, पातले धरातल बिर्सिए
तर रुखले कहिल्यै आफू उभिएको माटो बिर्सिएन
घाम, पानी, असिना, चट्याङ केही नभनी रुख उभिईरह्यो…बस उभिरह्यो ।

खै ती उडेका पात चोइटिएका बोक्रा कता गए
बेखबर छ रुख
रुखको धैर्यताले पलाएका नयाँ पातले छहारी दिए
नाङ्गिएको रुखलाई नयाँ बोक्राले कपडा लगाईदिए
फेरि बुर्कुसी मार्दै आउने हावासँगै
यी पातहरू पनि उडेर जानेछन्
आत चर्काउने घामसँगै रुखको इज्जत ढाकिदिएका
बोक्रा पनी फेरि चोईटिनेछन्
तर रुख त्यसैगरी उभिइरहनेछ
पातले झै, बोक्राले झै रुखले
आफू उभिएको माटोलाई घात गर्नै सक्दैन ।।

आफू पलाएको देख्ने बित्तिकै हसियामा धार लगाइहाल्ने
मान्छेसँग पनि रुखले कहिल्यै गुनासो गरेन
नत आफुलाई काट्न मान्छेको सारथी भइदिने
हसियासङ्ग, बन्चरोसँग नै गुनासो गर्यो
मान्छेले रुखले दिएको छहारी बिर्सिए
सास फेर्नलाई दिएको अक्सिजन बिर्सिए
हसिया, बन्चरोको आडमा धरातल बिर्सिए
समयको छलाङसँगै काटिएका डोबहरू मेटिए
रुख फेरि उसैगरी झपक्क पलायो
रुखले छहारी दिन छोडेन, अक्सिजन दिन छोडेन
किनकी रुखले आफू उभिएको माटो बिर्सनै सक्दैन ।।।

हाङ्गै नदेखिने गरी रुख झपक्क पलाउँदा
गुड लगाएर प्रेम लिला देखाउने
अनि नाङ्गिदै जादा अन्तै उडान भर्ने
चराहरुसँग पनि रुखले कहिल्यै गुनासो गरेन
चल्ला कोरली सकेपछी चराहरुले गुण बिर्सिए
अहिले रुख नाङ्गै उभिएको छ
तर आफू उभिएको माटो बिर्सिएको छैन
बरु सुकेर मर्ला रुख झुकेर मर्दैन ।।।।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु