१३ आश्विन २०८०, शनिबार

बीऊबाट कसरी उमार्ने आवोकाडो ?



११ जेष्ठ, सुर्खेत । आवोकाडो महँगो र स्वास्थ्यवर्धक फल हो । आवोकाडो यस्तो फल हो जसमा गुड फ्याट, प्रोटिन, पोटासियम र थुप्रै खाले पोषिलो पदार्थले भरिपूर्ण हुन्छ । उच्च मुल्यको फल भएकाले यसलाई ग्रिन गोल्ड पनि भनिन्छ । नेपालीमा यसलाई घ्यू फल नामाकरण गरिएको छ । नेपाली बजारमा ३०० देखि बेमौसममा ५०० रुपैयाँ किलोसम्म यसको मुल्य पर्दछ ।

कसरी उमार्ने आवोकाडो ?

१) राम्ररी पाकेको आवोकाडो बीऊलाई २ देखि ३ हप्ता सितल ठाउँमा सुकेपछि यसको बोक्रालाई निकाल्नु । बोक्रा नङले हल्का कोट्याएर या नङ् काट्ने सानो छुरी या यस्तै हल्का धारिलो चीजले कोट्याएर निकाल्ने । बोक्रा पानीमा कुहिएर ढुसी लाग्ने सम्भावना भएकोले यसो गर्नु पर्दछ ।
२) आवोकाडोको बीऊमा चित्र नं. २ मा देखाए जस्तै तीनवटा टुथपिक (सिन्काहरू) तीनतिर गाड्ने ताकि त्यो प्लास्टिकको गिलास भित्र नछिरोस् । अब टुथपिक गाडिएको बीऊ गिलासको केही भित्र पर्ने गरी अड्याउने । गिलासमा आवोकाडो बीऊ आधा भिज्ने गरी सफा पानी भर्ने ।
३) अब त्यो बीउलाई अलिअलि घाम पर्ने स्थानमा राख्ने तर बीऊ सुक्ने गरी चर्काे घाममा भने यसलाई राख्नु हुँदैन ।
४) ५–६ दिनका बीचमा सफा पानी फेर्ने ताकि पानीमा लेउ नलागोस् । बीऊ लेउ लाग्न खोजेमा हल्का गरी सफा पानीले धुने ।
५) करिव चार हप्ता देखि ८ हप्ता बीचमा बीऊको तल्लो भागबाट टुसा आउन थाल्दछ । पानी बदल्ने र हल्का सफा गर्ने कामलाई निरन्तरता दिने ।
६) अर्काे २ हप्तामा जरा बिस्तारै कडा हुँदै जान्छ भने चुच्चो भागबाट विरुवाको टुसा पलाउँदछ । अर्काे २ देखि ३ हप्ता भित्र विरुवा बढ्न थाल्छ र पातहरू पनि पलाउन थाल्दछ (हेर्नुहोस् चित्र नं. ४) । एक हप्ताको बीचमा पानी बदल्ने र हल्का जरा सफा गर्ने काम जारी राख्ने ।
७) २ देखि ३ महिना भित्र आबोकाडोको जरा फैलाएर बलियो हुन्छ भने बिरुवा पनि कडा भई पातहरू राम्ररी हालिसकेको हुन्छ । यसबेलासम्म विरुवाले बीऊबाटै खाना प्राप्त गरिरहेको हुन्छ ।
८) अब नर्सरी व्यागमा खुकुलो प्राङगारिक मल, मलिलो माटो र एक चौथाई बालुवा या काकोपिट राखेर सार्ने । यसरी सार्दा बीऊलाई माटोको सतहभन्दा गहिरो गरी राख्न हुँदैन हल्का देखिने गरी राख्न उपयुक्त हुन्छ । यस वीरुवालाई सिचाईँ गरी घाम छाँया हुने स्थानमा राख्ने ।
९) २ देखि ४ हप्तामा बिरुवा राम्ररी सरी सक्दछ ।
१०) १ देखि २ फुटको खाल्डोमा प्राङ्गारिक मल र माटो मिसाई विरुवालाई सार्न सकिन्छ । वीरुवा सार्दा आबोकाडोको डाँठ (काण्ड) माटोमा डुबाउनु हुँदैन । बिरुवालाई चिस्यान दिइराख्नु पर्दछ तर पानी जम्न कहिल्यै दिनु हुँदैन ।

अब ५ देखि ७ वर्षमा तपाईँको आवोकाडोले ग्रिन गोल्ड दिन थाल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको