म मुक्ति चाहन्छु
तेरो देउता लैजा
मलाई तेरो देउता चाँहिदैन
तेरो मन्दिर लैजा
मलाई तेरो मन्दिर चाहिँदैन
तेरो भगवान लैजा
मलाई तेरो भगवान चाहिँदैन
तेरो धर्म, कर्म लैजा
मलाई तेरो धर्म कर्म पनि चाहिँदैन
मैले नै बनाए पनि
तेरो भगवानको मुर्ती लैजा
तेरो जातिय अहंकार लैजा
तर जुनसुकै मुल्यमा पनि
म फिर्ता चाहन्छु मेरो झण्डा
जो तैले आजसम्म बोकेर
मेरो नामको राजनिती गर्दै आएको छस्
मै माथी शोषण गर्दै आएको छस्
त्यसैले मेरो रातो झण्डा फिर्ता गरि दे
त्यो झण्डामा विराजमान छन्
नवराज विकहरू र मेरा बाले गाउँमा चलाउने आरन
विराजमान छन हसिँया र हथौंडा
त्यसैले अब म मेरो झण्डा फिर्ता चाहन्छु
म आफै बोकेर आफ्नो मुक्तिको गीत गाउँछु
म अब आफ्नो मुक्तिको अस्त्र समाउँछु
किनकी म मुक्ति चाहन्छु ।
कवि आजाद विद्यार्थी नेता पनि हुन् ।