सरकारले अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याउँदै
११ जेष्ठ, काठमाडौं । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको तदारुकताका कारण विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । पछिल्लो समय सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने तयारी अघि बढाएको हो ।
नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीको निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्य मन्त्रालयसँग नियमित समन्वय गर्दै कोभिड रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन आवश्यक रणनीति अख्तियार गरी नीतिगत कुरामा जोड दिँदै आइरहेको छ ।
परराष्ट्र मन्त्रालयले अमेरिकाबाट ५० लाख डोज जोन्सन एन्ड जोन्सन भ्याक्सिन खरिद गर्न अमेरिकी सरकारलाई पत्राचार गरेकोको जानकारी प्राप्त भएको छ । त्यस्तै बेलायत सरकारसँग ५० लाख परिमाणकै खोप ल्याउन आवश्यक पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यस कामका लागि सम्बन्धित देशको दूतावासमार्फत् समन्वय भइरहेको छ ।