१७ श्रावण २०७८, आईतवार

कमरेडहरू दुनियाँ हामीतिर हेरेर हाँसिरहेको छ


पुरुषोत्तम पौडेल
१० जेष्ठ २०७८, सोमबार

नेकपा एमाले हजारौँ कार्यकर्ताको मिहनत र संघर्षको परिणाम हो । हजारौँ नेता–कार्यकर्ताको आस्था र निष्ठाको उपज हो । आज केही व्यक्तिको पूर्वाग्रह र इगोको कारण हजारौँ कार्यकर्ताको निष्ठामाथि खेलवाड गरियो । उनीहरूको अगाध आस्थामाथि चोट पुर्याउने काम भयो ।

लाखौँ नेपाली जनताको विश्वासमा छेडखानी गरियो । आफ्नै मातृभूमिको भविष्यबारे समेत गम्भीरतापूर्वक सोचिएन । संविधान निर्माणको समयमा आफैले राखेको अडान, सुझाव र सोचलाई पनि बेवास्ता गरियो । चुनावी प्रतिवद्धता र घोषणापत्रको त कुरै नगरौँ । दैनिक बोली वचन र लिहाजको समेत कहिल्यै ख्याल गरिएन ।

आज चारैतिरबाट असफलता हात लागेपछि हामी एक–अर्कोलाई देखाएर गाली गरिरहेका छौं र आफू ठीक भएको प्रवचन गर्दैछौं । खासमा यसैले हाम्रो असफलता प्रष्ट पार्ने हो । हामीलाई आफैले भनेको र बोलेको कुरा थाहा हुँदैन । विधिको कुरा गरेर विधान तोड्नु र कानुनको दुहाइ दिएर संविधान मिच्नु एउटै हो । आफ्नो हित र स्वार्थको निम्ति मनलाग्दी गर्नु हाम्रो आमचरित्र भयो । ‘कसलाई दोष दिनु, आफ्नै छोरो भङ्जाहा’ भनेजस्तो भएको छ ।

अब त यस्तो समय आयो कि आफैले आफैलाई गाली गर्नुपर्ने स्थिति छ । आफ्नो र अर्को फरक नगरी सबैलाई समान ठानेर काम गर्नुपर्ने कसम खाएका महामहिमहरूले नै सबैभन्दा बढी काखापाखा गरिदिनाले सबैतिर च्यातियो । अब त चारैतिर प्वालै प्वाल देखिन थालेको छ । बिग्रेको घरको भत्केको चाला जता हेर्यो उतै दैलो भनेजस्तो भएको छ ।

‘इदम भ्रष्टम्,उदम् भ्रष्टम्’ छ । यसो स्याहारेर हेरौँ न भनेर पनि सुख पाउने स्थिति छैन । आमूल परिवर्तनको नारा दिएर आउनेहरूको व्यक्तिगत जीवनमा मात्र आमूल परिवर्तन भएको छ । बिचरा जनता त्यहीँको त्यहीँ छन् ।

पञ्चायतीकालमा हामी एउटा नारा लगाउँथ्यौँ ‘उड्ने गुड्ने पञ्चका घर, बिचरा जनता तिर्छ कर’ । आज हामीले के नारा लाउने ? ३ वर्ष सत्तामा बसेर फेरि अकण्टक सत्ताका लागि चुनाव घोषणा गरिरहेका छौँ । उता बिचरा जनता आज पनि कर तिरेर सेवाको लागि तड्पिरहेका देखिन्छन् । बिचरा जनता कर तिरेर पनि फुर्सद पाउँदैनन् । त्यसमा थप नजराना बुझाउन बाध्य छन्।

तर, घुसखोर तथा भ्रष्टाचारी खुल्लमखुला दादागिरी गर्दै छन् । सबै सेवासम्बन्धी निकाय कमिसन एजेन्ट र दलालहरूको कब्जामा छन् । त्यहाँ उनीहरूले सिण्डिकेट चलाइरहेका हुन्छन् । उनीहरू उपल्लो दर्जामा रहेका शासकका वरिपरि बसेर बार्गेनिङ गरिरहेका हुन्छन् । उनीहरू शासकदलका चुनावी पार्टनर पनि हुन्छन् । त्यसैले हुन सक्छ उनीहरू निर्धक्क हुन्छन् । निस्फिक्री छन् ।

तर,जनता जहिले पनि दबाब र पीडामा बाँचिरहेका हुन्छन्। विडम्बना छ । कम्युनिष्टलाई जनताका विशेष प्रतिनिधिको रूपमा लिइन्थ्यो । कम्युनिष्टहरू जनताको पीडालाई समाप्त पार्नका लागि जन्मेका प्राणी हुन् ।

कम्युनिष्ट नेताको आदर्श,त्याग, तपस्या र बलिदानले आकर्षित गरेर धेरै मानिस पार्टीमा लागे । तर, नेतृत्वमा व्याप्त पद–मोह, सत्ता–मोह र धन–मोह हेर्ने हो भने आफूलाई वैदिक युगमा भनिने दुष्ट व्यक्तिका रूपमा पाउँछौं ।

दुष्ट व्यक्तिको मतलव काम, क्रोध,लोभ र मोहमा निर्लिप्त भएको व्यक्ति । यी दुर्गुणले हामीमा घर बसाउन थालेको छ । पद र प्रतिष्ठाका लागि सबै जालझेल गर्न हामीलाई त्यसैले प्रेरित गराइरहेको छ । साम,दाम, दण्ड, भेदको नीतिमा हामी पोख्त र पारंगत हुँदै छौँ ।

बस्, यसैले बताउँछ हामी कता जाँदै छौँ । के यो तरिकाले हामी जनता र केवल जनताको सेवा गर्ने ठाउँमा पुग्छौँ त ? के हामीले समाएको बाटो ठीक छ त ? अनेक प्रश्न छन् ।

हामी के ठीक गरिरहेका छौं ? पहिलो त हामी सामुहिक नेतृत्व भुलिरहेका छौँ । हामी हाम्रो नीतिगत आधार भुलिरहेका छौँ । हामी हाम्रो राजनीतिक लडाइँको तरिका र लक्ष्य भुलिरहेका छौँ । रियलमा हामी आफैले बनाएको पार्टीको विधान र देशको संविधानलाई सम्मान गर्न सकिरहेका छैनौँ । हामी बेठीकै बेठीकको बीचमा खडा भएका छौं ।

अहिलेको घटना मात्र हेरौँ त ! हामीले बहुमतको सरकार अल्पमतमा झार्नु बेठीक थियो । धारा ७६ (३) को सरकारले धारा ४ को प्रक्रिया छाड्नु बेठीक हो । फेरि आफै धारा ५ मा जाने नियत राखेर सिफारिस गर्नु पनि बेठीक हो । एमालेजस्तो पार्टीका सांसदले अर्को पार्टीको नेतालाई समर्थन गर्नु झन् बेठीक हो । पूरै देश कोरोना कहरमा डुबेका बेला संसद् विघटन गर्नु सबैभन्दा बेठीक हो ।

यसरी हेर्दा बेठीकै बेठीकको मेलबाट आउने नतिजा पनि बेठीक हुनु निश्चित छ । कमसेकम पनि मार्क्सवाद पढेको भए यति कुरा त बुझ्न सक्नुपर्थ्यो ! त्यो पनि देखिएन ।

रियलमा यो तरिकाले हामी कता पुग्दै छौं । के हामीलाई हेक्का छ ? हामी दुनियाँलाई समेटेर संसार बदल्ने योजना लिएर पो हिँडेका थियौँ । हामी त सबै नेपाली श्रमिक दाजुभाइ–दिदी बहिनीलाई एकजुट गरेर नयाँ नेपाल बनाउने जमर्को पो गरिरहेका थियौँ ।

हामी त ‘संसारभरिका श्रमजीवी एक हौँ ’ भन्दै नारा लगाइरहेका थियौँ । ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ हाम्रो गीत थियो । एकपटक मौका के आयो । हामी आफैँमा मारामार गरिरहेका छौँ । आफैँभित्रको दंगल कुस्तीका कारण आफ्नै लुगा च्यातिरहेका छौँ । दुनियाँ हामीतिर हेरेर हाँसिरहेको छ । हामी त एकअर्कोलाई देखाएर हाँसिरहेका छौँ ।

तर दुनियाँ फेरि हामीतिरै हेरेर हाँसिरहेको छ । हाम्रो कारणले जगहँसाइ भइरहेको छ । कम से कम यो जग हँसाइ बन्द गरौँ !


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु