अबको ४ हप्तामा विश्व सामान्य अवस्थामा फर्कन थाल्नेछः चिनियाँ बैज्ञानिक डा. झांग
९ जेष्ठ, काठमाडौं । चीनका सबैभन्दा बरिष्ठ कोरोना भाइरस विशेषज्ञ डा. झांग नेनशेनले आगामी ४ हप्तामा विश्वको अवस्था पहिलेजस्तै सामान्य अवस्थामा फर्कन सुरु हुने बताएका छन् ।
डा. झांगले यो अवधिपछि कोरोना भाइरसका नयाँ संक्रमणका केसमा कमी आउनुका साथै चीनमा अब दोस्रो चरणको आक्रमण नहुने समेत दावी गरेका छन् । ८३ वर्षीय डा. झांग कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचारका लागि चीन सरकारले गठन गरेको मुख्य टिमका प्रमुख हुन् ।
डा. झांगले भने, ‘चीनमा कोरोना भाइरसको दोस्रो आक्रमण हुने छैन किनकि हामीले अनुगमन विधिलाई अत्यन्तै बलियो बनाएका छौं ।’ उनले शेनझेनको एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा यस्तो बताएको डेलिमेलले उल्लेख गरेको छ ।
डा. झांगका अनुसार कोरोना भाइरससँग लड्ने २ मात्र तरिका छन् । पहिलो हामीले संक्रमणको दरलाई सबैभन्दा कम स्तरमा लैजाने र त्यसलाई बढ्नबाट रोक्ने जसबाट हामीलाई भ्याक्सिन बनाउन समय भई यो रोगलाई समाप्त गर्न सक्नेछौं ।
दोस्रो तरिकामा डा. झांगले भनेका छन्, ‘संक्रमणमा ढिलाइ ल्याऔं र आफ्ना केही बिरामीको संख्यालाई अलग अलग तरिकाले कम गरौं । धेरैजसो देशले कोरोना भाइरसको संक्रमणलाई लिएर कडा कदम उठाएका छन् । यस्तोमा मलाई आशा छ कि आगामी ४ हप्तामा विश्वमा नै नयाँ संक्रमित भेटिन लगभग बन्द हुनेछ ।’ उनलेले अहिले पनि चीनमा लाखौं साइलेन्ट कोरोना क्यारियर भएको भन्ने कुरामा कत्तिपनि सत्यता नभएको बताए ।
डा. झांगले भने, ‘हामीले भाइरसको संक्रमण भइ लक्षण नदेखिएको सबै बिरामीलाई अस्पतालमा भर्ना गरिसकेका छौं । यस्ता बिरामीलाई एसिम्टोम्याटिक केस भनिन्छ । एसिम्टोम्याटिक केसबाट संक्रमण बढ्ने खतरा चीनमा धेरै छैन । किनकि अहिलेसम्म हामीले यसको प्रमाण भेटेका छैनौं।’