ताप्लेजुङका शेर्पा बाबु–छोराले गरे सगरमाथाको सफल आरोहण
९ जेठ, काठमाडौँ । ताप्लेजुङ जिल्ला साँघु निवासी पूर्णकुमार शेर्पा (पिके) र उनका १६ वर्षीय छोरा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार बिहान ८ः५० बजे दुवै बाबु–छोराले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिएका छन् ।
दुवै जना बाबु–छोरा उक्त प्रालिमार्फत् आरोहणका लागि गएका थिए । सोनाम एक महिनाअघि नै ‘फादर एण्ड सन क्लाइमेट चेन्ज क्याम्पेन एक्सपेडिशन–२०२१’ नाम दिएर आवश्यक तयारीका लागि सगरमाथा बेस क्याम्प पुगेका थिए । सोनामका बाबु पिके गत वैशाख २४ गते अनुमति पत्र लिएर सगरमाथा आरोहणका लागि बेस क्याम्प गएका थिए । मौसम खराबीले केही दिन बेस क्याम्पमै बसेका आज बाबुछोराले आरोहण गर्न सफल भएका हुन् ।
त्यस्तै पर्यटन विभागले समेत पिके र सोनामले आरोहण गरेको सूचना आएको जनाएको छ । पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले भनिन्, ‘एक्सपेडिशन रिपोर्ट आएपछि विभागले छानविन गर्ने र आरोहण पुष्टि भए आधिकारिकता प्रदान गरिने छ ।’ यस्तै सोनाम सबैभन्दा कान्छो आरोही हुन सक्ने आचार्यको भनाइ छ ।