१२ आश्विन २०८०, शुक्रबार

“समय”



कसले बनायो घडी
सेकेन्ड, मिनेट र
घन्टाको सुइ बनाएर
कसले
बन्धक बनायो मान्छेलाई ?

घडी हेरेर
कहिल्यै चारो खाएनन् चराहरुले
निद्रा नलागी
केवल घडी हेरेर
कहिल्यै सुतेनन् जनावर पनि

तर मान्छे
भोक लागेर हैन
घडी हेरेर खान्छ
निद्रा लागेर हैन
घडी हेरेर सुत्छ

पृथ्वीले
घडी हेरेर घुम्ने हो भने
आजसम्म कतिपटक घुमिसक्थ्यो होला ?
पृथ्वी
घडी हेरेर कहिल्यै घुमेन
घुम्नु पृथ्वीको स्वभाव हो
घुमी मात्र रह्यो
घाम
कहिल्यै उदाएन घडी हेरेर
उदाउने स्वभाव हो
उदायो मात्र
जुनतारा चन्द्रमा चम्की मात्र रहे
हावाले
कहिल्यै हेरेन घडी
वहनु स्वभाव हो वहिरह्यो

घडी बन्नुभन्दा पहिले पनि
फूलहरु फुलिरहे झरिरहे
फलहरु फलिरहे पाकिरहे
रुखहरुले अग्लोहुन
कहिल्यै हेरेनन घडी
मान्छेकै शरीरमा पनि
आँखाले घडी हेरेर
देख्ने र नदेख्ने गर्दैन
कानले घडी हेरेर
सुन्ने र नसुन्ने गर्दैन
मिनेट मिनेटमा चपाए पनि
जिब्रोलाई
खोर्सानी हरेक पटक पिरो नै लाग्छ

तरपनि मान्छे
समयको कुरा गर्छ
समयको हिसाब राख्छ
समयको ज्ञान भएको भ्रान्ति पाल्छ

साँच्चै
मान्छेलाई समयको ज्ञान छ भने
मलाई जान्ने मन छ
ओ ज्ञानी मान्छे !
तिमिसंग
कति समय बाँकी छ होला ?


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको