मध्यराति संसद भङ्गः कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा
९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यराति बोलाएको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका अनुसार आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय समेत बैठकले
गरेको हो ।
संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकले निर्णय गरेको हो ।
यसअघि हिजो(शुक्रबार) मध्यरात राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेस गरेको दाबी नपुगेको ठहर गरेकी थिइन् ।
दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रूपमा नमिलेको निर्णय राष्ट्रपतिले लिएकी थिइन् । राष्ट्रपति कार्यालयले शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका लागि ओली र देउवा दुबैले गरेको दाबीमा आधार नपुगेको स्पष्ट पारेको थियो ।
राष्ट्रपतिद्वारा मन्त्रिपरिषदको सिफारिस सदर
प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गर्न मन्त्रिपरिषदले गरेको सिफारिषलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी छन् ।
मन्त्रिपरिषद बैठकले सिफारिस गरेको एक घन्टाभित्रै राष्ट्रपति कार्यालयले राति १ बजेर ५० मिनेटमा संसद भंग र नयाँ निर्वाचन मितिको घोषणासहित विज्ञप्ति जारी गरेको हो ।