१६ श्रावण २०७८, शनिबार

राष्ट्रपतिलाई बुझाएको लिस्टमा नाम नै नभएका सांसद राईको दाबी झुटो



७ जेष्ठ, काठमाडौं । किर्ते हस्ताक्षर गरेको भन्दै राष्ट्रपतिलाई निवेदन लेख्ने सांसद जयकुमार राईको दाबी नै झुटो ठहरिएको छ । नेकपा (एमाले) खनाल–नेपाल समुहले गरेको हस्ताक्षरमा उनको नाम नै रहेको छैन ।

विपक्षी गठबन्धनले संविधानको धारा ७६ को ५ बमोजिम गठन हुन लागेको नयाँ सरकारको निम्ति शुक्रबार अपरान्ह शीतल निवासमा बुझाएको १ सय ४९ जना सांसदको हस्ताक्षरमा आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै राष्ट्रपतिलाई बुझाएको भनी निवेदन लेख्ने राईको दाबी नै झुठो साबित भएको हो ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित एमालेका राईले आफूले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्तावमा पार्टी अध्यक्ष बिरुद्ध कुनै हस्ताक्षर नगरेको व्यहोरा लेख्दै शीतल निवासमा सोझै पत्र प्रेषित गरेका हुन् ।

एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका नेता बिरोध खतिवडाले शीतल निवासमा बुझाइएको १ सय ४९ जना सांसदको हस्ताक्षरमा राईको दस्तखत नै नरहेको जानकारी दिएका छन् । खतिवडाले भने, ‘रास्ट्रपति कार्यालयबाट सबैको सक्कली हस्ताक्षर रुजु गराए भैहाल्यो नि ! राईजीको पत्र र १४९ जनाको हस्ताक्षर हेर्दा शीतल निवासका कर्मचारीहरु कति हाँसे होलान् ! हेर मनको बाघ !”

सांसद खतिवडाका अनुसार, गत बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने क्रममा अनुपस्थित रहेका राईले अहिले आफ्नो दस्तखत पनि संलग्न गरिएको आशंकामा वक्तव्यबाजी गरेको हुनसक्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु