देवकोटाले भने,‘मेरो जित सरकारविरूद्धको आवाज हो’
६ जेठ, काठमाडौंँ । बिहिबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा विजयी भएका डा. खिमलाल देवकोटाले आफ्नो जित सरकारविरूद्धको आवाज भएको भएको बताएका छन्।
नवनिर्वाचित राष्ट्रियसभा सदस्य डा. देवकोटाले आफू स्वतन्त्र रूपमा उठेको भएकाले धेरै नबोल्ने बताए । उनका अनुसार यो सरकारले जेजस्तो काम गरिरहेको छ त्यसविरूद्ध एक ठाउँमा भएको मत हो । यो सरकारले विधी परम्परा र संविधान मिचिरहेको परिणाम स्वरूप आफूलाई मत आएको देवकोटाले बताए ।
देवकोटाले भने, ‘आफ्नो जित एउटा व्यक्तिको मात्रै नभएर यो संविधान र संघीय व्यवस्थाप्रति विश्वास राख्नेहरूको हो।’ आफूलाई कांग्रेस, माओवादी, एमालेका शिर्ष नेताहरूको सहयोग र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिको सहयोग भएकाले विजयी हुन सम्भव भएको बताए।
देवकोटालाई एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल पक्षको समर्थन थियो। उनलाई कांग्रेस–माओवादी केन्द्रको पूर्ण समर्थन थियो। एमालेको खनाल–नेपाल समूहसँग निकट देवकोटा संघीयता विज्ञ हुन्।