३० आश्विन २०७८, शनिबार

कालिकोटको नाग्ममा भीषण पहिरो, १० को मृत्यु २ बेपत्ता



१५ भाद्र, काठमाडौं । कालिकोटको तिलागुफा वडा नम्बर १ नाग्ममा गएको पहिरोले ४ घर पुरिदा १० जनाको मृत्यु भएको छ । आइतबार बिहान करिब ७ बजे गएको पहिरोमा परी एकै परिवारका ४ सदस्यसहित १० जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर २ जना बेपत्ता भएको र घाइते २ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

पहिरोमा पुरिएर नाग्मा पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाका छोरा अक्कल शाहीको घटनास्थलमै मृत्यु भएको इन्सपेक्टर यक्षराज जोशीले जानकारी दिए । शाही परिवारको घर शुभकालिका गाउँपालिका मुंग्रा भएपनि नाग्ममा पसल गरेर बस्दै आएका थिए ।

त्यस्तै पहिरोमा पुरिएर अर्को एकै परिवारका ३ सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलागुफा वडा नम्बर १ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी २५ वर्षीया श्रीमती छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाई रहेका छन् ।

इन्सपेक्टर जोशीका अनुसार तिलागुफा १ निवासी ३५ वर्षीय मनविर कटुवाल, सुर्खेत विरेन्द्रनगर घर भएकी ४८ वर्षीया आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

मृतकहरूको घटनास्थलमै पोस्टमार्टम भइरहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरेल बताए । उनले भने, ‘पोस्टमार्टमको लागि चिकित्सकहरूको टोली घटनास्थलमा खटाइसकेको छु । शवहरू सदरमुकाम ल्याउन सम्भव नभएकाले घटनास्थलमै पोस्मार्टम गरेर आफन्तको जिम्मा लगाउन निर्देशन दिइसकेको छु ।’

बेपत्ताको शव खोजी कार्यमा सशस्त्र, प्रहरी, नेपाली सेना र स्थानीय लागिपरेका छन् । पहिरोले कर्णाली राजमार्ग अवरूद्ध अवरूद्ध भएको छ । उद्दार टोलीले डोजर प्रयोग गरेर पहिरो पन्छाइरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको