‘पियारी’को फिमेल भर्सनलाई दुई हप्तामै १४ लाख बढि दर्शकको माया (भिडियोसहित)
६ जेठ, काठमाडौं । पछिल्लो समय सर्वाधिक रूचाइएको बहुचर्चित गीत ‘पियारी’को फिमेल भर्सनलाई दुई हप्तामै युट्युवमा १४ लाख बढि दर्शकले हेरेका छन् । गत बैशाख १६ गते लाइमलाइन नेपाल यट्युव च्यानलमा सार्वजनिक गरिएको गीतमा प्रतिभावान नवगायिका विशाखा शाही ठकुरीले स्वर दिएकी छिन् ।
यो समाचार तयार पार्दासम्म युट्युवमा गीतको भिडियो १४ लाख ३५ हजार बढि दर्शकले हेरिसकेका छन् ।
रियालीटी गायन प्रतिस्पर्धा ‘भ्वोईस अफ नेपाल सिजन–३’का प्रतिस्पर्धी धर्मेन्द्र सुनारले ब्लाइन्ड अडिशनमा ‘पियारी’ गीत गाएपछि प्रतिस्पर्धी सुनार र पियारी एकैचोटी चर्चाको शिखरमा पुगे । त्यसयता युवा गायक जोसेफ शाही ठकुरीको स्वरमा रहेको ओरिजिनल गीत ‘पियारी’लाई पनि दर्शकले निक्कै रूचाएका छन् । हालसम्म २१ लाख ६७ हजार बढि दर्शकले ओरिजिनल गीतको भिडियो हेरिसकेका छन् ।
दर्शकको चाहनालाई मध्यनजर गरेर फिमेल भर्सन बजारमा ल्याइएको लाइमलाइट नेपालका निर्देशक टेकेन्द्र शाहले रारापाटीलाई बताए । फिमेल भर्सनको लागि परिमार्जन गरी तयार पारिएका गीतका शब्द पियारीका गायक जोसेफले नै लेखेका हुन् । कोशिष क्षेत्रिको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको ध्वनि सम्पादन किशोर थापामगरले गरेका हुन् । गीत ए–वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो ।
काठमाडौंको जोरपाटीस्थित जर्सिङपौवामा छायाँकन गरिएको गीतको भिडियोमा गायिका विशाखाकै अभिनय रहेको छ । गीतको बारेमा आएको प्रतिक्रिया हेर्दा दर्शकले विशाखाको स्वरमात्र होइन अभिनय पनि उत्तिकै रूचाएका छन् । गीतको भिडियो निर्देशन र सम्पादन समेत टेकेन्द्र शाहले गरेका हुन् ।
भिडियो हेर्नुहोस् :