बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पठाइएको भिटिएम कांग्रेस नेता कुँवरले लगे
३ बैशाख, बागलुङ । कोरोना भाइरस संक्रमण बढिरहेका बेला बागलुङको ढोरपाटन नगरपालिकाभित्र राजनीतिक खिचतानी बढेको छ । ढोरपाटन नगरपालिकामा कोरोना चेकजाँचका लागि स्वाब संकलन गरेर पिसिआर चेकजाँच गर्ने क्रममा जस लिने होडबाजी चलेको हाे ।
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पठाएको भिटिएम कांग्रेस नेता दोर्ण कुँवरले लगेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ९० थान भिटिएम पठाएको बताए । सोही भिटिएम बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा नपुग्दै कांग्रेस नेता कुँवरले लगेको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए ।
‘पालिकाले स्वाब संकलनका लागि भिटिएम मगाउँछ, कांग्रेस नेताले मैले मगाएको भन्दै भिटिएम बिच बाटोबाटै लान्छन्, मेयर नेपालीले भने, ‘अहिले खोज्नका लागि प्रहरी पठाएको छु ।’
केही दिनअघि बुर्तिबाङमा स्वाब संकलनका लागि ल्याइएको भिटिएम काँग्रेस नेता जित शेरचनले ल्याएको भन्दै केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रचार गरिए त्यसको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले खण्डन गरेको छ ।
स्वास्थ्य कार्यालय बागलुङले प्राथमिक स्वास्थ्य केन्द्रका लागि पठाएको भिटिएमबाट ४३ जनाको पिसिआर परीक्षण गरि बागलुङ पठाइएको र पिसिआर रिपोर्ट आउन बाँकी रहेको केन्द्रले जनाएको छ । यसका बारेमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले एक वत्तव्य नै प्रकाशित गरि यस्तो कठीन संकटमा स्वास्थ्य संस्थामा राजनैतिक चलखेल र जनतालाई भ्रम फैलाउने गतिविधि मात्र भएको भन्दै आपत्ति जनाएका छन् ।
ढोरपाटन नगर कार्यपालिकाले बैशाख ३० गते गरेको निर्णय अनुसार बैशाख ३१ मा लक्षण सहितका बिरामीको कोरोना परीक्षण गर्ने निर्णय गरेको र सोही अनुसार कोरोना परीक्षण गरिएका ४३ जनाको स्वाब धौलागिरी अस्पताल बागलुङमा पठाइएको उनको भनाई छ । पिसिआर गरिने भिटिएम समेत स्वास्थ्य कार्यालय मार्फत प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
केही मिडिया र फेसबुकमा भ्रम सिर्जना गर्ने खालका नगरपालिकाले चासो नदेखाएपछि ‘काँग्रेस नेता जित शेरचनको सक्रियतामा ४३ जनाको स्वाब परीक्षण’ भन्ने शीर्षकमा भ्रामक समाचार प्रकाशन भएको र राजनैतिक प्रचार वाजी गरिएको प्रति स्वास्थ्य केन्द्रको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तथ्यमा आधारित हुन आग्रह गरिएको छ ।
यता, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पठाइको भिटिएम नेता कुँवरले लगेको पाइएको बताए । ‘उहाँले लगेको पाइएको छ, केहीसमयभित्र प्राथमिक स्वास्थ्य केन्द्रमा हस्तान्तरण गर्छु भन्नुभएको छ’ उनले भने
