६ आश्विन २०८०, शनिबार

आफैले खनेको खाल्डोमा प्रधानमन्त्री ओली, विश्वासको मत नपाएपछि पदमुक्त



२७ बैशाख, काठमाडौं । मेरो गोरूको बाह्रै टक्का भन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली अन्तत आफैले खनेको खाल्डोमा खसेर पदमुक्त भएका छन् । प्रतिनिधिसभाबाट बहुमत सांसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि संवैधानिक व्यवस्थाअनुसार ओली प्रधानमन्त्रीबाट स्वत पदमुक्त भएका हुन् ।

सरकारको नेतृत्वका लागि फेरिपनि आफु नै उपयुक्त पात्र रहेको भन्दै सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीद्वारा प्रस्तुत विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको छ । बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका थए । प्रधानमन्त्रीको पक्षमा बहुमत कायम नभएको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाले विश्वासको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले विपक्षमा मत खसालेका छन् । संसदको सबैभन्दा ठुलो दल एमालेका १२१ जना सांसदमध्ये माधव नेपाल पक्षका २८ सांसदहरू बैठकमा उपस्थित नै भएनन् ।

प्रधानमन्त्री ओली पदमुक्त भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६ को उपधारा २० अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको