काठमाडौंमा निषेधाज्ञा २९ गतेसम्म थपियो, बजार पसल बिहान ७–९ सम्म मात्र खोल्न पाइने
२१ बैशाख, काठमाडौं । कोरोना जोखिम न्युनिकरण गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइका साथ एक साता लम्ब्याइने भएको छ ।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पराजुलील अनुसार यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्मका लागि तोकिएकोमा बैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरिएको हो । अबको निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ ।
निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ ।
पत्रकारहरूको हकमा सूचना विभागको कार्डको अनिवार्य गर्ने प्रजिअ पराजुलीले बताए ।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान छ ।