ममता बेनर्जीबारे विवादास्पत टिप्पणी गरेपछि कंगनाको ट्वीटर अकाउन्ट ‘सस्पेन्ड’
२१ बैशाख, काठमाडौं । विभिन्न कारणले पटक–पटक विवादमा तानिइरहने बलिउडकी अभिनेत्री कंगना रनावतको ट्विटर अकाउन्ट निलम्बित (सस्पेन्ड) भएको छ ।
रनावतले ट्विटमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीलाई २००० सालको सुरूमा जस्तै ‘विराट’ रूप लिएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई काबूमा राख्न आग्रह गरेपछि उनको ककाउन्ट निलम्बन गरिएको हो ।
कंगनाको उक्त टिप्पणीपछि उनको अकाउन्ट निलम्बन गर्न माग भएको थियो ।
उनले लगातार विवादास्पद ट्विट गरेपछि अकाउन्ट निलम्बन गरेको एनडिटिभीले जनाएको छ । ट्विटरमा विभिन्न राजनीतिक तथा बलिउडबारे टिप्पणी गरेर कंगना पटक–पटक विवादमा आउने गर्छिन् ।
उनको अकाउन्ट निलम्बित भएसँगै अहिले ट्विटरमा कंगना रनावत ट्रेन्डिङमा छिन् । उनले पश्चिम बंगालको चुनावी नतिजाबारे विवादास्पद टिप्पणी गरेकी थिइन् ।
हालै पश्चिम बंगालमा भएको विधानसभाको चुनावमा ममता बेनर्जीको तृणमूल कंग्रेस पार्टीले जितेको हो । बेनर्जी आफ्नो चुनावी क्षेत्र नन्दीग्राममा हारे पनि उनको पार्टीले दुई तिहाइ बढी सिटसहित जित हाँसिल गरेको छ ।
स्रोतः एजेन्सी