२८ बैशाख २०७८, मंगलवार

२७ गते ओलीले विश्वासको मत लिँदै, विश्वासको मत नपाए के हुन्छ ?



२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउने वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेका छन्। उनले विश्वास मत लिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिनका लागि संसद अधिवेशन डाकेकी छन्।

आफ्नै पार्टीभित्र विवाद उत्कर्षमा पुगेको र विपक्षीहरू सत्ता गठबन्धन बनाउन हरसम्भव प्रयास गरिरहेका बेला प्रधानमन्त्री ओलीले के योजनाका साथ विश्वासको मत लिने निर्णय गरेका हुन् भन्ने स्पष्ट भइसकेको छैन। सरसर्ती हेर्दा अहिले संसदमा जुन अंकगणित र परिस्थिति छ त्यसअनुसार ओलीले आफ्नो पक्षमा बहुमत पुर्‍याउन सहज छैन।

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल ओलीले नेतृत्व गरेको नेकपा एमाले हो। एमालेसँग १ सय २१ जना सांसद छन्। २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा माओवादी केन्द्रका ४ सांसदको पद गएकाले २ सय ७१ सदस्य छन्।

२ सय ७१ मध्ये एमालेका १ सय २१ कांग्रेसका ६३ (२जना निलम्बनमा भएकाले यो संख्या ६१ हुन्छ), माओवादी केन्द्रका ४९ (सभामुख सहित),जसपाका ३४(२ निलम्बनमा सहित),स्वतन्त्र ३ जना छन्।

ओलीलाई बहुमत पुग्न १ सय ३६ सांसद चाहिन्छन्। आफ्नो पार्टीका सबै सांसदलाई एक ढिक्का बनाउन सके ओलीलाई अरू १५ सांसद भए पुग्छ। यस्तो अवस्थामा जनता समाजवादी पार्टीले साथ दिए उनको कुर्सी सहजै जोगिन्छ। जसपाभित्र भने ठूलो संख्या ओलीको विरोधमा छ।

ओलीले विश्वासको मत नपाए पदबाट राजीनामा दिनुपर्ने वरिष्ठ अधिवक्ता रामनारायण विडारीको तर्क छ।

‘उहाँले विश्वासको मत नपाए स्वतः राजीनामा दिनुपर्छ। संविधानको धारा ७६ को उपधारा २ अनुसार २ वा २ भन्दा बढी दलका बहुमत सांसदको हस्ताक्षर बुझाउने व्यक्ति प्रधानमन्त्री बन्छ,’ उनले भने, ‘धारा ७६ को उपधारा २ अनुसार सरकार नबने संसदको ठूलो दलको हैसियतमा ओली नै प्रधानमन्त्री बन्छन्।’

२७ गतेअगाडि नै अविश्वासको प्रस्ताव दर्ता भए भने संसदमै भोटिङमार्फत् प्रधानमन्त्री बन्ने बिडारीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु