१४ जेष्ठ २०८०, आईतवार

एमाले संसदीय दलको बैठक सकियो, पोखरेललाई आजै मुख्यमन्त्रीको शपथ खुवाउने तयारी



मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएपछि नेकपा एमाले संसदीय दलको बैठक बसेको छ ।

मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएलगत्तै बसेको एमाले संसदीय दलको बैठकले संविधानको १६८ को १ बमोजिम एकल सरकार बनाउने निर्णय गरेको हो ।

एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले एकल सरकारको मुख्यमन्त्री संसदीय दलका नेता शंकर पोखरेललाई नै तोक्ने निर्णयसमेत भएको बताए । ‘आजै मुख्यमन्त्रीको शपथ हुने गरी गृहकार्य अगाडि बढाइएको छ,’ उनले भने, ‘मुख्यमन्त्री नियुक्तिपछि बिस्तारै मन्त्रिमण्डल विस्तार हुनेछ ।’

नयाँ सरकार गठनका लागि प्रदेशप्रमुख धर्मनाथ यादवले प्रदेशसभामा सहभागी दललाई आह्वान गनुपर्ने हुन्छ । प्रदेशप्रमुखको कार्यालयले आजै उक्त आह्वान गर्ने स्रोतले जनाएको छ ।

एमाले लुम्बिनीमा ४१ जना प्रदेशसभा सदस्य छन् । जसपाका ४ र माओवादीका २ सांसद निष्कासनमा परेपछि अहिले प्रदेशसभा ८१ सदस्यमा खुम्चिएको छ । सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छन् जुन एमालेमा मात्रै छन् ।

एमाले संसदीय दलको बैठकमा ४० सदस्य उपस्थित थिए । कोभिड संक्रमणका कारण प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ भने उपस्थित थिएनन् । नयाँ राजनीतिक घटनाक्रमहरूबारे नयाँ रणनीति बनाउँदै एमालेले अन्य मन्त्रिमण्डल विस्तार गर्नेसमेत एमाले संसदीय दलको निर्णय छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको