विप्लव नेतृत्वको नेकपा फुट्यो
१८ वैशाख, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाले पार्टी विभाजन गरेका हुन् ।
विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको भन्दै धमलाले शनिबार विज्ञप्ति जारी गरी नयाँ पार्टीको घोषणा गरेका हुन् ।
धमला संयोजक रहेको नयाँ पार्टीको नाम ‘जन समाजवादी मञ्च, नेपाल’ रहेको छ ।
धमलाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ( ‘आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आफुलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ ।’
नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको बताइएको छ ।