निषेधाज्ञा अवज्ञा गर्ने तीन जना जेल चलान
१७ वैशाख, रुपन्देही । रुपन्देहीमा निषेधाज्ञा अवज्ञा गर्ने तीन जनालाई कारागार चलान गरिएको छ । कैद तथा जरिवाना बापतको जनही नौ हजार एक सय रुपैयाँ तिर्न नसकेपछि तीन जनालाई भैरहवास्थित जिल्ला कारागार कार्यालय रुपन्देही चलान गरिएको हो ।
रुपन्देहीमा बिहीबारदेखि जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही पठाइएको छ ।
निषेधाज्ञाको अवज्ञा गर्नेलाई सम्झाई–बुझाई गर्दा पनि ड्यूटीका प्रहरीलाई अवरोध पुर्याउने ८ जनालाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले उनीहरुमध्ये ७ जनालाई जनही १ महिना कैद वा सो बराबरको जरिवाना ९ हजार १ सय रुपैयाँ र एक जनालाई ६ सय रुपैयाँ जरिवानाको आदेश गरेका थिए ।
जसमध्ये ५ जनाले कैद र जरिवानावापतको रकम दाखिला गरेपछि छाडिएको र अन्य ३ जनाले कैद वा सो बराबरको जरिवना अनुरुप रकम नबुझाउँदा उनीहरुलाई सजाय भुक्तानका लागि जिल्ला कारागार भैरहवामा पठाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।
त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने १ हजार २० वटा सवारी साधन र १ हजार ४ सय ७० जना (पैदल यात्री २ सय समेत) लाई ‘होल्ड’ गरी सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।