१७ श्रावण २०७८, आईतवार

सत्ता जोगाउन मन्त्रालय फुटाएर मनाङेलाई मन्त्री



१७ वैशाख, पोखरा । प्रदेश सभामा विचाराधीन अविश्वास प्रस्ताव असफल बनाउने योजनाअन्तर्गत गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई बिहीबार युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएको हो ।

मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय टुक्र्याएका हुन् । अविश्वासको प्रस्तावमा मतदान हुने दिन बुधबार एकाएक सम्पर्कविहीन भई सदनमा अनुपस्थित रहेका मनाङेले भोलिपल्टै मन्त्री उपहार पाएका छन् । उनी आफैँले पनि ‘सरकार टिकाउन मद्दत गरेकाले मन्त्री पद पाएको’ प्रतिक्रिया दिएका छन् ।

यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि खाली भएका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा भने अझै रिक्त छन् ।

मनाङ ‘ख’बाट स्वतन्त्र उम्मेदवार बन्दै प्रदेश सभामा निर्वाचित भएका मनाङे केही समयपछि तत्कालीन एमालेमा प्रवेश गरेका थिए । तर, पछिल्लो समयमा उनले आफू स्वतन्त्र सांसद भएको भन्दै प्रदेश सभामा छुट्टै कुर्सीको व्यवस्था गर्न माग गरेका थिए । त्यति मात्र नभएर उनले पार्टीलाई बुझाएको लेबी पनि फिर्ता हुनुपर्ने माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु