काठमाडौंका चोकचोकमा प्रहरी, बिहान ६ बजे उपत्यका भित्रिनुपर्ने सवारी जाममा फसे
१६ वैशाख, काठमाडौं । प्रहरीले कोरोनाभाइरस रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा जारी गरेसँगै त्यसको कार्यान्वयनका लागि कडाइ गरेको छ ।
राजधानीमा बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको छ भने तोकिएको बाहेकका सवारीसाधन चलाउनेमाथि पनि होल्ड गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
उनका अनुसार काठमाडौं जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरूलाई छुट दिइएको छ । तर योजनाअनुसार सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको उनको भनाइ छ । तोकिएका बाहेकका गाडी र मोटरसाइकललाई नियन्त्रणमा लिएर होल्ड गरिएको उनको भनाइ छ ।
सिंहले काठमाडौंका १२८ ठाउँका पिकेट ड्युटीमा प्रहरी परिचलान गरिएको छ भने ट्राफिक र प्रहरीले संयुक्तरुपमा ४४ ठाउँमा सवारी चेकिङ गरेको छ। यस्तै मोबाइल, क्युआरटी र सीआरभी भ्यान परिचालन गरेर निषेधाज्ञाको अनुगमन भएको छ । यस्तै मास्क नलगाएकालाई पनि होल्ड गरिएको छ ।
जाममा फसे
निषेधाज्ञाका कारण उपत्यकाबाट बाहिरिनेहरुको चापका कारण राजधानीको नागढुंगा तथा थानकोट क्षेत्रमा अझै जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
उपत्यकाबाट बाहिरिनेहरुको चापका गएरातिदेखि नै कलंकीदेखि नागढुंगा र त्यसभन्दा पर धादिङसम्मनै चर्को जाम रहेको थियो ।
सो जाम अहिलेपनि पुरा नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले बाटो अझै क्लियर नभएको र निषेधाज्ञा अघि नै उपत्यका प्रवेश गर्नुपर्ने गाडीहरु जाममै फसेका छन् । ती गाडीहरुलाई उपत्यका भित्रन दिने उनको भनाइ छ ।