जनमोर्चाका नेताले सिडिओलाई झपारेको भिडियो भाइरल
१६ वैशाख, पोखरा । अस्पतालमा उपचाररत आफ्ना सांसदलाई भेट्न नदिएपछि जनमोर्चाका एक नेता सीडीओसँग झोक्किएका छन् ।
गण्डकी प्रदेश सभा सदस्य जनमोर्चाका खिमविक्रम शाहीलाई कसैसँग भेट्न नदिएपछि अपहरण गरिएको र सुरक्षा दिन नसकेको भन्दै सो पार्टीका प्रदेश अध्यक्ष शंकर बराल कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसँग झोक्किएका हुन् ।
नेता बरालले सीडीओलाई थर्काएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । उनले सीडीओ गौतमलाई फोनमा ‘तँ’ भनेर सम्बोधन गरेका छन् ।
‘एमालेको राज्य हो यो ? राज्यमा मान्छे छैनन् ? कसको प्रतिनिधि भएर बसेको छस् तँ सीडीओ,’ उनले फोनमा थर्काएका छन्, ‘मार्ने सिरिन्ज लगाएर राख्ने अर्काको सांसदलाई ? तेरो काम हो यो सबै ।’ जनमोर्चा सांसद शाही पोखरा नागढुङ्गास्थित चरक मेमोरियल अस्पतालमा छन् ।
उनलाई कोरोना भएको भन्दै बुधबार मध्यान्हदेखि सो अस्पतालमा राखिएको छ । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा आज मतदान हुने कार्यसूची थियो । तर, सांसद शाही बेपत्ता भए । पछि उनी अस्पतालमा रहेको थाहा पाएपछि पार्टी प्रदेश अध्यक्ष बराल त्यहाँ पुगेका थिए ।
भेट्न नदिएको र अपहरण गरेर ल्याइँदा पनि चुप बसेको भन्दै अध्यक्ष बराल सीडीओ गौतमसँग झोक्किएका हुन् ।