१६ श्रावण २०७८, शनिबार

गण्डकीका तीन सांसदलाई कोरोना पुष्टि



गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभाका एक सांसदका अनुसार स्वास्थ्य निर्देशनालयले तीन जना सांसदलाई संक्रमण देखिएको बताएको हो ।

यसको औपचारिक जानकारी दिउँसो एक बजे सम्बन्धित दलका नेतालाई बोलाएर दिने स्वास्थ्य निर्देशनालयको तयारी छ । एक सांसदका अनुसार सबै सांसदलाई कोभिड–१९ रिर्पोट पठाइसकिएको छ । एमाले सांसद इन्द्रधारा विष्टले आफूहरुले कोभिड–१९ रिर्पोट पाइसकेको बताए । यस्तै प्रदेशसभाका दुई जना कर्मचारीलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश सभाको मंगलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको कोभिड–१९ परीक्षण गरिएको थियो । बैठकमा एमाले सांसदहरुले परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् । विशेष अधिवेशनको पहिलो दिन सोमबार एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पीसीआर परीक्षण माग गर्दै बैठकको सुरुआतमै आपत्ति जनाएका थिए ।

सभामुखले बैठक स्थगित गरेपछि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सांसदहरुको मंगलबार नै कोभिड–१९ परीक्षण गर्ने निर्णय गरेको थियो । परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी समितिले निर्णय गरेको हो ।

बुधबार सांसदहरुको कोभिड–१९ परीक्षणको नतिजा आएपछि दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक डाकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु