५ आश्विन २०७८, मंगलवार

भोलि बिहान ६ बजेदेखि कास्कीमा निषेधाज्ञा



१४ वैशाख, कास्की । कास्कीमा बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा सोमबार राति बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो।

जारी निषेधाज्ञामा बुधबारदेखि जोरबिजोर प्रणालीमा सवारीसाधन भने चल्न दिने उल्लेख गरिएको छ। निषेधाज्ञामा सबै प्रकारका भेला, गोष्ठी, सेमिनार, सभा, सम्मेलन, भिडभाड, जुलुस, जात्रा, महोत्सब लगायतका गतिविधि गर्न निषेध गर्ने उल्लेख छ।

यस्तै, विश्वविद्यालय, विद्यालयका पठन–पाठन, तालिम, प्रशिक्षण स्थगित गर्ने निर्णय गरेको छ। निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, जिमखाना, ब्युटी पार्लर, शेलुन लगायत पसलहरू खोल्न नदिने उल्लेख छ।

यस्तै, होटल तथा रेष्टुरेण्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ‘टेक अवे’ अर्थात खानेकुरा बसेर खान नपाउने लिएर जान पाउने गरी सञ्चालन गर्न दिने निर्णय गरिएको छ। निषेधाज्ञामा तरकारी तथा फलफूल, औषधी पसल, पेट्रोल पम्पलगायत अत्यावश्यक सेवा भने सुचारु गर्न दिने निर्णय गरेको छ।

उक्त आदेश वैशाख २१ गते राति १२ बजेसम्म कास्की जिल्लाभर लागू हुने छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको