६ आश्विन २०८०, शनिबार

सरकारविरुद्ध लागे सिधै कारबाही



१३ वैशाख, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीलाई दिएको छ ।

एमाले स्रोतका अनुसार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको छ । यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूलाई स्पष्टीकरण सोधिएको थियो । ती सांसदले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको खण्डमा फ्लोर क्रस गर्ने भन्ने अनुमानसहित केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गर्दै कारबाहीको जिम्मेवारी स्थायी कमिटीलाई दिएको हो ।

कारबाही गरिने सांसदको नाम र सूची टुंग्याउने जिम्मा प्रधानमन्त्री ओली र स्थायी कमिटी सदस्यलाई दिने निर्णय गरिएको छ । एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुन सक्नेबारे सूक्ष्म अध्ययन गर्दै यस्तो निर्णय गरेको हो ।

परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार ककसलाई कारबाही अघि बढाउने भन्ने प्रस्ताव तयार गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ । प्रवक्ता ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको बताए । केन्द्रीय कमिटीको बैठकले हाल कारबाहीसम्बन्धी कुनै निर्णय नगरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको