त्रिविको सोमबारको परीक्षा यथावत : त्रिवि
१३ वैशाख, काठमाडौं । उच्चस्तरीय सीसीएमसीको बैठकले सबै शिक्षण संस्थाहरुले तय गरेका सबै तहका परीक्षाहरु तत्काल स्थगित गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालयले भने सोमबारको परीक्षा कायमै हुने जानकारी दिएको छ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार सोमबारका लागि तय भएका परीक्षा यथावत राख्ने निर्णय भएको हो। ‘बिहान ७ बजेदेखि नै परीक्षा भएकाले हामी रोक्न सक्दैनौं,’ उनले भने।
सोमबारका लागि बीएड, बीएस्सी र बीएको परीक्षा रहेको जानकारी पनि उनले दिए। त्रिविका पदाधिकारीहरुबीच बैठक बसेर नै सोमबारको परीक्षा सुचारु राख्ने निर्णय भएको उनले जानकारी दिए।
निषेधाज्ञा लागेमा के गर्ने र सोमबारपछिका परीक्षा के गर्ने भन्नेबारे सोमबार बैठक बसेर निर्णय लिइने पनि परीक्षा नियन्त्रक जोशीले जानकारी दिए।