मेस्सी क्लबमै रहने भए तत्काल पद छाड्न तयार छु : अध्यक्ष बारटोमेउ
१४ भाद्र, काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउले लियोनल मेस्सी क्लबमै रहने भए आफू तत्काल पद छाड्न तयार रहेको बताएका छन् । बार्सिलोनाका कप्तान मेस्सीले तत्काल क्लब छाड्ने बताएपछि अध्यक्ष बारटोमेउले यस्तो प्रस्ताव ल्याएका हुन् ।
उनले भनेका छन्, ‘मेस्सीले सार्वजनिक रूपमा आफू बार्सिलोनामै रहन तयार छु भनेमा म तत्काल अध्यक्षबाट राजिनामा दिन तयार छु ।’ मेस्सीबाट कस्तो जवाफ आउला त्यो भने फुटदल जगतका लागि उत्सुकताको विषय बनेको छ ।
युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाको निकै कमजोर प्रदर्शनपछि स्तब्ध भएका मेस्सी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको व्यवहारप्रति पनि असन्तुष्ट छन् । क्लवले आफ्ना साथी लुइस स्वारेजलाई गरेको व्यवहारमा पनि उनि दुखी छन् ।
यसअघि बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर रामोन प्लेन्सले पनि मेस्सी क्लबमा रहने हो भने उनका असन्तुष्टिहरू सम्बोधन हुनेगरी उनलाई नै केन्द्रमा राखेर टिम निर्माण गर्न आफुहरू तयार रहेको बताएका थिए ।
बार्सिलोना कुनै पनि हालतमा जादुमयी फुटबरल मेस्सीलाई गुमाउने पक्षमा छैन । मेस्सी बार्सिलोनामै रहन उस्तै परे प्रशिक्षक रोनाल्ड कोम्यानले पनि राजिनामा दिनुपर्ने हुनसक्छ । यद्यपी बार्सिलोनामा रहने या नरहने सम्पुर्ण निर्णयको अधिकार मेस्सीसँगै छ ।
स्रोत : एजेन्सिको सहयोगमा