२० जेष्ठ २०८०, शनिबार

ओलीलाई घनश्यामले दिए चार बुँदे स्पष्टीकरण (पूर्ण पाठसहित)



१० बैशाख, काठमाडौंँ । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले वैशाख ६ गते सोधेको पत्रको स्पष्टीकरण दिएका छन्।

भुसालले बिहीबार इमेलमार्फत् चार बुँदामा ओलीलाई स्पष्टीकरण दिएका हुन्। उनले आफूले उपमहासचिव र संसदीय दलको हिसाबले पार्टी तथा संसदीय दलको विधानविपरीत कुनै काम नगरेको बताएका छन्।

आफूले अदालतको फैसलापछि एमालेको पार्टी जीवन पुनः आरम्भ गर्नुपर्ने वैधानिक, कानुनी, राजनीतिक र व्यवहारिक तथ्यलाई इन्कार गर्दै पार्टी विभाजन गर्न संगठित प्रयास भएपछि राष्ट्रिय कार्यकर्ता भेलाको नेतृत्व गरेको बताएका छन्।

स्पष्टीकरणको पूर्ण पाठः

संसदीय दलको नेताको हैसियतले तपाईँले २०७८ वैशाख ६ गतेको मिति राखेर वैशाख ७ गते दिउँसो इमेलबाट मलाई पठाउनु भएको पत्रका सम्बन्धमा आफ्नो भनाइ निम्नानुसार रहेको कुरा जानकारीका लागि इमेलद्वारा प्रेषित गरेको छु।

१) म नेकपा एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षलगायत अरु पदाधिकारीजस्तै प्रतिनिधिहरुको प्रत्यक्ष मतबाट निर्वाचित उपमहासचिव हुँ। साथै, नेकपा एमालेको उम्मेदवारका हिसाबले गत २०७४ सालको आम निर्वाचनमा प्रस्तुत भई प्रतिनिधिसभाको सदस्यमा निर्वाचित सदस्य हुँ। मैले पार्टीको उपमहासचिव र संसदीय दलको सदस्यको हिसाबले पार्टी र संसदीय दलको विधान विपरित कुनै काम गरेको छैन।

२) २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाअनुसार २०७७ जेष्ठ २ गतेलाई नेकपा एमालेको पार्टी जीवन पुनः आरम्भ गर्नु पर्ने वैधानिक, कानूनी, राजनीतिक र व्यवहारिक तथ्यलाई इन्कार गर्दै पार्टीलार्ई विभाजित गर्न सङ्ठित प्रयास भएपछि ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने घोषित ध्येयका साथ चैत्र ४ र ५ गते नेकपा एमालेका कार्यकर्ताहरुको राष्ट्रिय भेला गरिएको हो र त्यो कार्यक्रम आयोजनाका नेतृृत्व कर्तामध्ये मैले पनि भूमिका खेलेको कुरा साँचो हो। त्यो काम पार्टीको इतिहास, गौरव, विधि, मूल्यहरुको रक्षाको लागि गरिएको हो। मेरो त्यस सक्रियताले कसका हितमा बाधा परेको छ भन्ने कुरामा मलाई चासो छैन। यस पापत ब्यहोर्नु पर्र्ने कुनै पनि परिणाम ब्यहोर्न आफु तयार नै रहेको कुरा अनुरोध गर्छु।

३) हाम्रो पार्टीको नवौँ महाधिवेशनमा बदलिँदो नेपाली समाजको चरित्रलाई ठम्याउने र त्यसअनुसार पार्टीको कार्यदिशा र सिद्धान्तहरु निर्माण गर्ने कुरामा बहस तथा विवादहरु थिए। मसमेत रहेको पक्षका विचारहरु महाधिवेशनले पारित गरेकै कारणले म माथि विभिन्न किसिमका आरोपहरु लगाउने काम भैरहेको तथ्य विभिन्न हिसाबले स्थापित नै छ। ती विचारहरु बनाउने र आठौँ महाधिवेशनमा प्रस्ताव गर्ने तथा नवौँ महाधिवेशनसम्म तिनको पक्षमा लेख्ने, बोल्ने र प्रशिक्षणहरु गर्ने गराउने काममा मैले नेतृत्व गरेको हुँ। नवौँ महाधिवेशनपछि पार्टीले उक्त कार्यदिशा र सिद्धान्तको कार्यान्वयन नगरेको विषयमा पार्टीको केन्द्रिय कमिटी, स्थायी कमिटी र अन्य मञ्चहरुमा आवाज उठाउँदै आएको हुँ। त्यस क्रममा मेरो आलोचना र विरोध हुँदै आएको कुरामा म स्पष्ट छु। आफ्नो त्यस क्रियाकलाप वापत हुन जाने परिणामलाई ब्यहोर्न तयार छु।

४) आजको नेपाली समाजको मुख्य समस्या दलाल पुँजीवादसँग छ भन्ने कुरा मैले २०५७ सालदेखि उठाउँदै आएको छु। आठौँ महाधिवेशनपछि दलाल पुँजीवादले हाम्रो पार्टीका नेता कार्यकर्तालाई कसरी प्रभावित पार्दैछ र पार्टीभित्रै दलाल पुँजीवादको सेवा गर्ने एउटा समूह कसरी संस्थागत हुँदैछ, साथै, त्यो समूह नकमाएको सम्पत्तिमा बाँच्ने नवधनाढ्य वर्गमा कसरी रुपान्तरित हुँदैछ विषयमा पार्टी र सार्वजनिक मञ्चहरुमा छलफल गर्दै आएको छु। नवौँ महाधिवेशनदेखि दलाल पुँजीवादले कसरी हाम्रो राज्य–कार्यकारिणी, व्यवस्थापिका र न्यायपालिका–लाई नै कब्जा गर्छ(गर्दैछ भन्ने कुरा उठाउँदै आएको छु। यी विषयमा मेरो लगावका कारणले मेरो विरोध र आलोचना हुँदै आएको कुरा मलाई राम्ररी थाहा छ। यस वापत भविष्यमा मैले अरु जोखिमहरुको पनि सामना गर्नु पर्छ भन्ने कुरामा म धेरै स्पष्ट छु। र, मेरा यी क्रियाकलाप वापत हुन आउने कुनै पनि परिणाम व्यहोर्न तयार रहेको कुरा स्पष्ट पार्छु।

अन्त्यमा, आज पार्टीमा देखा परेका समस्या र तिनले उत्पन्न गरेको विभाजनको खतरालाई टार्न पार्टीको अध्यक्ष र संसदीय दलको नेताको हिसाबले तपाईँले खेल्नु पर्ने भूमिका महत्वपूर्ण छ। इतिहासमा अग्रजहरुको बलिदानको जगमा हामी आज बाँचेको पीँढीले आफ्नो जिन्दगीमा धेरै फाइदा लिएको छ तर आजका हाम्रा कर्मले आम जनता र आउने पीँढीले असाधारण मूल्य तिर्नु पर्ने अवस्था आउँदैछ। यसबाट पार्टीलाई जोगाउन व्यक्तिगतरुपमा मैले के के त्याग गर्नु पर्ने हो त्यो सबैका लागि आफु तयार रहेको जानकारी गराउँदै त्यसका लागि तपाईँको शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग हुनेछ भन्ने आशा गर्छु।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको