राष्ट्रिय सभा उपनिर्वाचन जेठ ६ मा, दल दर्ता गर्न आयोगको आह्वान
काठमाडौं : निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा मगरको रिक्त पदमा पूर्ति गर्न ६ जेठमा उप निर्वाचन गर्ने भएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आज विज्ञप्ति निकाली ६ जेठमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम मिति २०७८/०१/०६ को नेपाल सरकारको निर्णयानुसार राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको गर्ने निर्णय भएको बताएका छन् ।
‘राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ (पैतीस) दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था बमोजिम नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो,’ प्रवक्ता श्रेष्ठदेवारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जेठ ६ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ। संविधानको धारा २७१ अनुसार उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह छ।
दलको विधान, नियमावली तथा घोषणापत्रसहित कागजातहरू दल दर्ताका लागि आवश्यक पर्छन्। वैशाख १४ गतेभित्र दल दर्ता गर्न आयोगले आग्रह गरेको छ। बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि पनिर्वाचन हुन लागेको हो।
नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल यो क्षेत्रबाट निर्वाचित भएका थिए।
बादलले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले पद रिक्त गरेका थिए।