नवलपरासीमा एकै ठाउँमा ६७ वटा गिद्ध मृत फेला
पश्चिम नवलपरासीमा ठूलो संख्यामा लोपोन्मुख गिद्ध मृत फेला परेका छन्। परासीको जितपुरमा १०० भन्दा बढी संख्यामा गिद्ध मृत फेला परेका हुन्। पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिका–४ स्थित जितपुरको खुला मैदानमा एक सय भन्दा बढी संख्यामा गिद्ध मृत फेला परेको रामग्राम नगरपालिकाका स्थानीयवासी सम्भु उपाध्यायले बताए।
रामग्राम नगरपालिका– ४ स्थित जितपुरको पाल्ही क्याम्पस पछाडिको खुला मैदानमा १०० भन्दा बढीको संख्यामा मृत अवस्थामा गिद्ध फेला परेका हुन्। प्राकृतिक कुचीकार मानिएको गिद्ध यति ठूलो संख्यामा कसरी मृत फेला पर्यो भन्ने खुल्न सकेको छैन। गिद्धहरु मृत फेला परेको मैदानको बीच भागमा एउटा कुकुर समेत मृत फेला परेको छ।
स्थानीयहरुले कुकुरलाई विष खुवाएर मारिएको हुनसक्ने र कुकुरको मासु खाएका कारण गिद्ध पनि मरेका हुनसक्ने आशंका गरेका छन्। पशुको उपचारका क्रममा डाइक्लोफिनाइक्स नामक औषधि प्रयोग गर्ने गरिन्छ। सो औषधिको प्रयोगपछि पशुको मृत्यु भएको खण्डमा त्यो पशुको मासु खाएपछि यसरी नै गिद्ध मर्न सक्ने स्थानीयबासी उपाध्याय बताउँछन्।
नेपालमा डाइक्लोफिनाइक्स औषधि प्रयोगमा प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध लगाइए पनि नवलपरासीको यो क्षेत्र भारतीय खुला सीमानासँग जोडिएको हुनाले भारतबाट सजिलै औषधि ल्याउने गरिन्छ।
सयौंको संख्यामा अचानक गिद्धको मृत्यु हुनुले प्रकृति प्रेमीहरुलाई चिन्तित बनाएको सामाजिक अभियन्ता बृजराज कुशवाहले बताए। यति धेरै संख्यामा लोपोन्मुख चरा गिद्धको मृत्यु भएको घटनाको छानबिन गरिनुपर्ने माग समेत स्थानीयले गरेका छन्। पश्चिम र पुर्वी नवलपरासी जिल्लाको माथिल्लो भागमा रहेको चुरे पहाड क्षेत्रमा अनेक प्रजातिका गिद्धहरुको वासस्थान रहेको छ।