८ माघ २०७८, शनिबार

आज रामनवमी, चितवनको अयोध्याधाममा रामसीताको मूर्ति प्रतिस्थापना हुँदै



चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको जन्मदिन ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ।

असत्यमाथि सत्यको विजयीको उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ। तर यस वर्ष पनि कोरोना भाइरस सङ्क्रमणका कारण तीर्थस्थलमा भीडभाड र उल्लेख्य मानिस भेला हुन सकेका छैनन्। स्वास्थ्य मापदण्डका कारण पनि भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गरिरहेका छन्।


यसैबीच श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारमको मूर्ति प्रतिस्थापन गरिने भएको छ। प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित आज त्यसतर्फ लागेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए।

बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा गएको रथयात्रा समूह बेलुकी देवघाट पुगेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।


हिजो माडी नगरपालिका वडा नं ९ कृष्णनगरस्थित प्रस्तावित अयोध्याधाम क्षेत्रमा राम मन्दिर स्थापनाका लागि काठमाडौँबाट राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति आज साँझ तनहुँको देवघाट ल्याएर राखिएको थियो।

श्रीरामनवमीका दिन बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ यात्रा अघि बढ्ने छ। बुधबार मध्याह्न १२ः३० बजे मूर्ति प्रतिस्थापन साइत रहेको उनले सुनाए। प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको जनाइएको छ।

यात्रामा संस्कृति मन्त्रालयका सचिव यादव कोइराला, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलगायत कोषका पदाधिकारी सहभागी छन्। गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको