१६ श्रावण २०७८, शनिबार

पार्टी निर्णयविपरीत सरकारमा गएका जसपाका चार जना पार्टीबाट निलम्बित



काठमाडाैं – जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिले पार्टी निर्णयविपरीत सरकारमा गएको भन्दै चार सांसदलाई पार्टीबाट निलम्बन गरेको छ।

साथै २४ घण्टाभित्र सरकारबाट राजीनामा गरेर फिर्ता हुन पार्टीले भनेको छ। स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो उत्तर नआउँदासम्म पार्टीको सम्मपूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको समेत पार्टीले जनाएको छ। 

पार्टीको प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गर्दै संसदीय दलको बैठकमा अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने बहुमतले निर्णय गरेर त्यही सरकारमा मन्त्रीको शपथ लिने चारै जनालाई तत्काल राजीनामा गरेर फिर्ता हुन निर्देशन गरेको हो।

जसपाले सरकारमा मन्त्रीको शपथ ग्रहण गरेका सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई पार्टीको निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारबाट फर्कन भनेको हो। अन्यथा सांसद पदबाट निलम्बन गरिनेसमेत जसपाले चेतावनी दिएको छ। 

पार्टी प्रधानमन्त्री केपी ओलीको पुस ५ गतेको संसद् विघटन गर्ने कदमलाई असंवैधानिक भन्दै अर्को सरकारको विकल्पमा लागेको पनि उनले विज्ञप्ति मार्फत स्पष्ट पारेका छन्।

उनले सोमबार बिहान साढे ७ बजेदेखि नै बसेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा बहुमतले निर्णय गर्दै अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने निर्णय भएको जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु