१७ श्रावण २०७८, आईतवार

बादलले फेरि लिए मन्त्री पदको शपथ, सभामुखद्वारा बहिस्कार



,

काठमाडौँ– राष्ट्रियसभाको सदस्यबाट पदमुक्त भएसँगै गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादलले लगत्तै फेरि मन्त्री पदको शपथ लिएका छन्। आइतबार माओवादी केन्द्रको सिफारिसमा पदमुक्त भएका बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमै साविककै गृहमन्त्रीकै जिम्मेवारी दिएका थिए।

साँझ ५ बजे राष्ट्रपति भवन शितल निवासमा बादलले राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। संघीय संसदको सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ। सो व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले बादललाई गृहमन्त्रीमा पुनः नियुक्ति गरी शपथ दिलाएका हुन्।

बादल २०७४ सालको चुनावमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए।

त्यसपछि माओवादी र एमाले एकता भएर नेकपा बनेको थियो। तर सर्वोच्चको आदेशले एकता खारेज भएपछि बादल पुरानो पार्टी माओवादीमा नफर्की एमालेमा लागेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री रामबहादुर थापा बादलको शपथ ग्रहण बहिस्कार गरेका छन्। माओवादीले सांसद पदबाट हटाएपछि स्वतः पदमुक्त भएका बादललाई ओलीले लगत्तै आइतबार सोही पदमा नियुक्त गरेका थिए।

नियुक्तिपछि साँझ राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनीताको शपथग्रहण कार्यक्रममा सभामुख सापकोटा अनुपस्थित भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु