सैनिक जवानले गरे आत्महत्या : आफैमाथि चलाए गोली
१४ भाद्र, काठमाडौं । नेपाली सैनिकका एक जवानले आफैलाई गोली हानी आत्महत्या गरेका छन् । भद्रकालिस्थित नेपाली सेनाको पेट्रोल पम्पमा डिउटीमा खटिएका सैनिक जवानले आत्महत्या गरेका हुन् ।
राति १२ बजेदेखि डिउटीमा खटिएका २७ वर्षीय सैनिक जवानले आफुले बोकेको एसएलआर राइफलले घाँटिमा गोली हानेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी परिसरका अनुसार गोली घाँटीबाट छिरेर कञ्चटबाट निस्केको देखिएको छ ।
सैनिक जवानको घटनास्थलमै मृत्यु भएको थियो । मृत्युपछि लगत्तै पुगेको महानगरीय अपराराध महाशाखाले घटनास्थलको मुचुल्का सङ्कलन गरी अनुसन्धान थालिसकेको प्रहरी उपरिक्षक दिपक थापाले बताए ।
आत्महत्या गर्ने सिपाही तनहुँ साबिक रानीपोखरी गाविस ६ घर भएका २७ वर्षीय दामोदर क्षेत्रि हुन् । मृतकको शव पोस्मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको परिसर प्रवक्ता प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले बताए ।
सैनिक जनसम्पर्क निर्देशनालयले पनि डिउटीमा खटिएका जवानले आत्महत्या गरेको पुष्टि गरिसकेको छ । सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडलले सिपाहीले गोली हानेर आत्महत्या गरेको बताए ।
सहायक रथी पौडेलले भने, ‘सैनिक जवान कसरी आत्महत्या गर्ने विन्दूमा पुगे भन्ने सत्यतथ्य पत्ता लगाउन सैनिक प्रहरीलाई जिम्मा दिइएको छ ।’
मृतक क्षेत्रि नौ वर्षदेखि नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ ।