१९ जेष्ठ २०८०, शुक्रबार

प्रधानमन्त्री र जसपा अध्यक्ष ठाकुरबीच छलफल



प्रधानमत्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच आज (बिहीबार) भेटवार्ता भएको छ ।

नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका नेताहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरसँग गठबन्धन गरेर सत्ता टिकाउने खेलमा लागिरहेको बताइरहेका बेला उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी थिए । भेटवार्तामा अहिलेसम्म भएको काम कारबाहीको समीक्षा भएको जसपा नेता लक्ष्मणलाल कर्णले बताएका छन् । कार्यदलको बैठक साँझ ५ बजे फेरि बस्ने जनाइएको छ । एमालेको कार्यदलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्तामा बस्दै आएका छन् ।

जसपाले कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकतालगायतका माग राखेर सरकारसँग वार्ता गरिरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई नयाँ सरकार गठनका लागि अग्रसर भइरहेका बेला ठाकुर पक्षले आफूसँग गरेको आजको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । केपी ओली सरकार जोगाउन र ढाल्न निर्णायक देखिएका जसपाको ठाकुर पक्ष ओलीलाई साथ दिने पक्षमा छ भने यादव र भट्टराई नयाँ सरकार निर्माणमा जोड दिइरहेका छन् ।

मंगलबार नयाँ सरकार निर्माणबारे काँग्रेस सभापति शेरबहादुर देउवासँग यादव र भट्टराईले भेटवार्ता गरेका थिए । सोही साँझ देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि नयाँ सरकार बनाउने विषयमा छलफल भएको थियो । विपक्षी मोर्चा कसिलो बन्दै गरेका बेला ठाकुर र ओलीको भेटवार्ताले जसपा विभाजन हुने सम्भावना बलियो बनेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको