पद नपाएपछि प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले प्रधानमन्त्रीको पद नपाएपछि ‘प्रतिगमन’को हल्ला फिजाएको आरोप लगाएका छन् ।
द्वन्द्वपीडितहरुको सम्मानका लागि बुधबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो आरोप लगाएका हुन् ।
‘केही आफू प्रधानमन्त्री हुन पाइनँ भनेर प्रतिगमन भो भनेर आँगनमा कराउन थालेका छन्, ’ उनले भने, ‘अहिले त्यस्तै स्यालहुइँया चलाउने मान्छे छन् । के हो प्रतिगमन ? यिनीहरूले परिवर्तन नै देख्या रैनछन् क्या हो ?’
उनले प्राप्त परिवर्तन र उपलब्धी गुमेमा, गणतन्त्र गुमेमा, व्यवस्था सञ्चालन गर्ने संविधान खोसिएमा प्रतिगमन हुने बताए ।
उनले भने, ‘अहिले कसैले संविधान खोस्या छ र ? छैन । व्यवस्था पल्टिएको छ र ? छैन । लोकतन्त्रका आधारहरू केही तलमाथि परे र ? छैन । केही मान्छेका महत्वाकांक्षा पूरा हुन पाएनन् । त्यो भएपछि प्रतिगमन भयो रे ?’
उनले प्रतिगमनको हल्ला चलाउनेहरूलाई वामपन्थीका नाममा दक्षिणपन्थीको संज्ञा दिए । ओलीले सत्ता कब्जा गर्न खोज्नेहरू पराजित भएको बताए । सत्ता कब्जा गर्दा-गर्दै नेताहरुको ‘कब्जा, किला खुस्किएको’ समेत उनले बताए।