२० जेष्ठ २०८०, शनिबार

नेपाल–खनाल समूहकाे ६४ जिल्लामा समानान्तर कमिटी



नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले ६४ जिल्लामा समानान्तर कमिटी गठन गरेको छ । यसरी गठन गरिएका जिल्ला कमिटीहरुमा ३३ जना पुरानो जिल्ला कमिटीकै अध्यक्ष छन् भने ३१ जना नयाँलाई अध्यक्ष बनाएर जिल्ला कमिटीलाई पुनर्गठन गरेको नेपाल पक्षको दाबी छ ।

अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेको पार्टी संरचनाहरु ब्युँताउनु पर्ने माग गर्दै आएको यो समूहले समानान्तर कमिटी गठनलाई तीब्र बनाएको छ । ‘आजसम्म ६४ जिल्ला कमिटीको पुनर्गठन गरिसकियो । जसमा ३३ जना एकीकरण हुँदाको समयका तत्कालीन अध्यक्षहरुले निरन्तरता पाउनु भएको छ भने बाँकी नयाँ व्यक्तिलाई अध्यक्ष बनाएर जिल्ला कमिटीलाई पुनर्गठन गरेका छौं’ नेता बेदुराम भुसाल भन्छन्, ‘अहिले निरन्तर रुपमा यो काम चल्दै छ । केही दिनमा सबै जिल्लाका कमिटीहरु पुनर्गठन भइसक्छ ।’

अहिलेसम्म खनाल–नेपाल समूहले आफ्नो पक्षमा अध्यक्ष रहेका जिल्ला कमिटीमा सदस्य थपेको छ भने केपी ओलीतर्फका जिल्ला अध्यक्षलाई नयाँ व्यक्तिले प्रतिस्थापन गरेको छ ।

गत फागुन २३ मा सर्वोच्च अदातलको फैसलाले माओवादी केन्द्रसँगको एकता भंग गरिदिएपछि खनाल–नेपाल पक्षले २०७५ जेठ २ गतेको संगठन ब्युँतिएको बताउँदै आएको छ । तर ओलीले फागुन २८ गते आफ्नो पक्षका केन्द्रीय सदस्यलाई मात्रै राखेर पार्टीको केन्द्रीय कमिटी विस्तार गरेपछि खनाल–नेपाल पक्षले समानान्तर कमिटी बनाउने निर्णय लिएको थियो ।

चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेर खनाल–नेपाल पक्षले २०७५ जेठअघिको पार्टी संरचना ब्युँताउने निर्णय गरेको थियो । त्यसैअनुसार खनाल नेपाल पक्षले विभिन्न प्रदेशमा इन्चार्ज तोक्दै संगठन संरचनामा निर्माण गरेको छ ।
प्रदेश १ मा भीम आचार्य, २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा युवराज ज्ञवाली, कर्णालीमा प्रकाश ज्वाला र सुदूर पश्चिममा भीम रावललाई इन्चार्ज तोकिएको छ।

जिल्लास्तरमा इलाम र झापाको नेतृत्वमा चयन भइसके पनि कमिटी घोषणा गरिएको छैन । सोलु, ओखलढुंगा, महोत्तरी, मनाङ, मुस्ताङ, पाल्पा, कपिलवस्तु, कालीकोट, डोल्पासहितका जिल्ला अध्यक्षको टुङ्गो लाग्न बाँकी रहेको भुसालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको