१६ श्रावण २०७८, शनिबार

बागलुङको फर्निचर उद्योगमा भीषण आगलागी



 बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।

गए राति २ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ । रातिदेखि शुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको हो । क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । फर्निचरका सबै सामग्री जलेका छन् ।

बागलुङ, पर्वत र म्याग्दीका तीन वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए । आगो निभाउन नेपाली सेना, सशस्त्र र जनपद प्रहरी तथा बागलुङ, बेनी र कुस्मा नगरपालिकाका कर्मचारी तथा प्राविधिकहरू खटिएका छन् ।
‘राति अचानक आगोको लप्का देखिएपछि नजिकैका महिलाहरू कराउन थाले, त्यसपछि सबै मिलेर निभाउने प्रयास ग¥यौं, केही लागेन,’ स्थानीय मञ्जुल शाक्यले भने, ‘आगो सल्किएपछि वरिपरिका घरपरिवारले पनि सामान सारेका छन् ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु