२१ जेष्ठ २०८०, आईतवार

भारतमा संक्रमण बढ्दा नेपाल जोखिममा



काठमाडौँ– पछिल्लो केही समययता छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। दिन प्रतिदिन संक्रमण दर बढिरहेको छ।

मंगलबार मात्रै एक लाख १५ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। महामारी सुरु भएयता एकैदिन एक लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो। त्यसैगरी पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ६ सय ३० जनाको मृत्यु भएको छ।

हालसम्म भारतमा कुल संक्रमितको संख्या एक करोड २८ लाखभन्दा बढी पुगेको छ।

यस्तै नेपालमा पनि पछिल्लो समय संक्रमितको संख्या उकालो चढ्ने क्रममा छ। संक्रमितको संख्या उकालो चढ्ने क्रम अझै बाँकी नै रहेको विज्ञहरुले बताएका छन्। उनीहरुका अनुसार नेपाल संक्रमणको उच्च जोखिममा भएका कारण उच्च सर्तकता अपनाउन अत्यन्तै जरुरी छ।

भारतमा संक्रमण दर बढ्दो भएका कारण नेपालमा उच्च सर्तकता अपनाउँदै जनस्वास्थ्यमा मापदण्ड अपनाउन अत्यन्तै आवश्यक रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

उनले भने, ‘भारतमा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ। भारतमा संक्रमण दर बढ्दै गर्दा नेपाल यसको उच्च जोखिममा छ। त्यसैले सबैले जनस्वास्थ्यमा मापदण्ड पालना गर्न अत्यन्तै जरुरी छ।’

यस्तै नेपालमा संक्रमण फैलिन नदिनका लागि भारतसँग जोडिएका विभिन्न नाकाहरुमा उच्च सर्तकता अपनाउँदै निगरानी राखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

उनले भने, ‘विभिन्न नाकाहरुमा निगरानी गरेका छौँ। नाकामा चाहिने सामानको व्यवस्था गरिएको छ। भारतबाट आएका व्यक्तिमा नाकामा संक्रमण पुष्टि भयो भने उनीहरुलाई त्यहाँबाट लगेर छुट्टै आइसोलेसनमा व्यवस्थाका गरिएको छ।’

डा. अधिकारीका अनुसार यी सबै कुराहरुको व्यवस्थापनका लागि समिति गठन गरिएको छ। अहिले भारतबाट भित्रिरहेका व्यक्तिहरुको विवरण संकलन गर्ने र उनीहरुलाई क्वारेन्टिनमा राख्नका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेको डा. अधिकारीले बताए।

यस्तै नाकाबाट भित्रिरहेका व्यक्तिहरुलाई सूचना सामग्री उपलब्ध गराउने, मास्कहरु उपलब्ध गराउने जस्ता कामहरु भइरहेको उनी बताउँछन्।

डा. अधिकारीका अनुसार संक्रमण फैलिन नदिनका लागि नाकामा मात्र नभएर देशभर नै अनावश्यक आवत–जावत, भिडभाडलाई व्यवस्थित गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको