प्रदूषण फेरि विकराल, काठमाडौं ९४ सहरमध्ये पहिलो नम्बरमा
काठमाडौँ — गत साता हल्का वर्षापछि कम भएको वायु प्रदूषण र तुवाँलो राजधानीसहित देशभर फेरि विकराल बन्दै गएको छ । वायु प्रदूषणमा लामो समयदेखि अनुसन्धान गर्दै आएको स्विट्जरल्यान्डको जेनेभास्थित ‘आईक्यू एअर’ ले काठमाडौंलाई सोमबारदेखि नै प्रदूषित ९४ सहरमध्ये पहिलो नम्बरमा राखिरहेको छ ।
मंगलबार बिहान प्रदूषणले ढाकेको काठमाडौंको निर्माणाधीन धरहरा र आसपासको दृश्य तस्बिर स् अंगद ढकालरकान्तिपुर
काठमाडौंको रत्नपार्कमा मंगलबार साँझ ६ बजेको वायुको गुणस्तर सूचकांक ९एक्यूआई० प्रतिघण्टा १९४ छ भने ललितपुरको भैंसेपाटीमा १८९ छ । सबैभन्दा बढी हेटौंडामा एक्यूआई ४४४ छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ सम्म स्वस्थ हुन्छ भने २०१ भन्दा माथिलाई धेरै अस्वस्थकर र ३०१ भन्दा माथिलाई घातक मानिन्छ ।
सरकारी अधिकारीहरूले यसरी प्रदूषण बढ्नुमा वन डढेलोलाई प्रमुख कारण मानिरहेका छन् । विज्ञप्ति निकालेर सचेत गराएबाहेक मुख्य सरोकारवाला निकाय वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागले प्रदूषण नियन्त्रणमा सिन्को भाँचेको देखिन्न । विभागमार्फत चालु आर्थिक वर्षमा पनि ‘स्वच्छ वातावरण महाअभियान’ चलिरहेको छ ।
विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार उक्त अभियानअन्तर्गत १० देखि १२ करोड बजेट छ । वायु प्रदूषणको क्षेत्रमा काम गर्न अलग्गै बजेट विनियोजन भएको छ । ‘महाअभियानको बजेटबाट हरियाली प्रवर्द्धनलगायत कार्यक्रम भइरहेका छन्,’ जोशीले कान्तिपुरसित भने, ‘वायु प्रदूषणको बजेटबाट प्रदूषण जाँच गर्ने उपकरण थप गर्ने र जोड्ने तथा जनचेतनामूलक कार्यक्रम भएका छन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।