६ आश्विन २०७८, बुधबार

महाराष्ट्रमा लगाइयो रात्रिकालीन कर्फ्यू



काठमाडौं : भारतको महाराष्ट्रमा एकदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएपछि प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू र सप्ताहन्तमा लकडाउन घोषणा गरेको छ। आइतबार एकैदिन ५७ हजारभन्दा बढी मानिसमा संक्रमण देखिएपछि मुख्यमन्त्री उद्धव ठाक्रेले मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर सोमबारदेखि लागू हुने गरी रात्रिकालीन कर्फ्यू र सप्ताहन्तमा लकडाउन घोषणा गरेका हुन् ।

नयाँ प्रतिबन्धअनुसार अत्यावश्यकबाहेकका सबै पसलहरू अप्रिल अन्तिमसम्ममा बन्द हुनेछन्। रेष्टुरेन्टहरूबाट टेक अवे र होम डेलिभरी सुविधामात्र हुनेछ। राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू लगाइने छ। दिउँसो पाँच जनाभन्दा बढी मानिस भेला हुन पाइने छैन।

सिनेमा हल, जिम, मल, प्ले ग्राउन्ड सबै बन्द हुनेछन्। विद्यालय र क्याम्पसका जाँच भए पनि पढाइ बन्द हुनेछ।

५० जना सहभागी भएर विवाह समारोह गर्न मिल्नेछ भने अन्तिम संस्कारमा २० जनामात्र सहभागी हुन पाउनेछन्। राज्यका स्वास्थ्य मन्त्री राजेश तोपेले मापदण्ड पालना नगर्नेलाई १० हजार भारूसम्म जरिवाना हुने बताएका छन्।

उता राजस्थान प्रदेश सरकारले पनि कोरोना संक्रमण बढेपछि रात्रिकालीन कर्फ्यू लगाउने निर्णय गरेको छ। त्यहाँ राति ८ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइनेछ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको