बागलुङ होली घटना, अभियुक्त सार्वजनिक गर्न दिउँसो १ बजे पत्रकार सम्मलेन
२० चैत, काठमाडाैं । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जना अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी कृष्णबहादुर पल्ली मगरका अनुसार आज दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिएको हो ।
‘पक्राउ परेका मध्ये आशंका गरिएकालाई जिल्लामा ल्याइसकेका छौं’, डीएसपी इकवाल हवारीले भने, ‘आज दिउँसो १ बजे पत्रकारसम्मलेन मार्फत सार्वजनिक गछौं ।’
घटनाको अनुसन्धानका लागि गण्डकीबाट सिआइबीको टोलीसहित बागलुङका एसपी मगर पुगेका थिए । प्रहरीले अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याएको छ ।
बागलुङ, गुल्मी र प्युठानको सिमाना बल्देघुरीमा आइतबार होली खेल्ने क्रममा झडप हुँदा दुई जनाको हत्या भएको थियो । होली खेल्न क्रममा युवतीलाई जबरजस्ती होली लगाइदिँदा दुई समूहबीच झडप भएको थियो ।
झडप हुँदा निसीखोला गाउँपालिका–७ घर भएका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको हत्या भएको थियो । घटनाका घाइते ज्ञानु दमाइ पनि उपचार पछि घर फर्किएका छन् ।