नेपाल र रावलपछि ओलीले गरे पाण्डे र भुसाललाई निलम्बन
२० चैत, काठमाडौं । देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको अभियोगमा सोमबार वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन गरेका एमाले अध्यक्ष केपी ओलीले तीन दिनमै अरू दुई नेतामाथि पनि कारबाही गरेका छन् ।
उनले बिहीबार स्थायी कमिटी सदस्य घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनासम्म पार्टी सदस्यताबाट निलम्बन गरेका छन् । भुसाल र पाण्डेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले दुवैलाई बिहीबार निलम्बनको कारबाही गरेका हुन् ।
ओली समूहका केन्द्रीय सदस्य सहभागी बैठकले भुसाल, पाण्डेसहित वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ८ चैतमा स्पष्टीकरण सोधेको थियो । नेपाल र रावलले १२ चैतमा प्रतिस्पष्टीकरणसहित जवाफ बुझाएका थिए । नेता नेपाल र रावललाई ओलीले १७ चैतमा पार्टी सदस्यताबाट ६ महिना निलम्बनसहितको कारबाही गरेका छन् ।
तर, पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुसालले जवाफ नदिएको भन्दै १६ चैतमा दोस्रोपटक स्पष्टीकरण सोधिएकोमा १७ चैतमा उनीहरूले प्रतिस्पष्टीकरणसहित जवाफ फर्काएका थिए ।
अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारबाही हुन सक्ने चेतावनी दिँदै ओलीले पत्रमा दुवैलाई सच्चिनका लागि अन्तिम मौका दिइएको जनाएका छन् ।
‘एकैपटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरू ९प्रतिनिधिसभा सदस्यताबाहेक० तथा पार्टी सदस्यबाटै हाललाई ६ महिनाका लागि निलम्बन गरिएको छ,’ कारबाहीको पत्रमा छ ।