पानी परेपनि काठमाडौंको मौसम खुलेन
१९ चैत, काठमाडाैं । लामो समयपछि पानी परेपछि धेरैलाई लागेको थियो काठमाडौंको मौसम खुल्छ भन्ने । तर बिहीबार बिहानै काठमाडौं तुँवालोले ढाकेको छ ।
बुधबार साँझ बंगालको खाडीबाट आएको न्युनचापीय प्रणाली, पश्चिमी वायुका कारण उपत्यकासहित पहाडी क्षेत्रमा पानी परेको थियो ।
मौसमविद् मन्जु बासीका अनुसार काठमाडौं उपत्यकामा हल्का वर्षा मात्रै भएको हो ।
उनले जंगलमा लागेको डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषणको मात्रा कामयै रहने र शुक्रवारदेखि वर्षा गराउने कमजोर प्रणाली पनि हराउने हुँदा वायु प्रदूषण फेरि यथावत नै हुनसक्ने बताइन् ।
बिहीबार पनि काठमाडौँ उपत्यकासहित केही ठाउमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन् । मौसमी प्रणाली बिहीबारसम्म सक्रिय रहने भएकाले पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।
शुक्रबारदेखि भने फेरि प्रदूषणको चाप बढ्न सक्ने सम्भावना छ । पहाडी क्षेत्रमा मात्रै पानी परेकाले तराईका जिल्लामा लागेको डढेलोका कारण वायु प्रदूषण फेरि बढ्न सक्ने सम्भावना रहेको हो । वायु प्रदूषण बढेपछि उपत्यकासहित विभिन्न जिल्लामा मानिसहरुलाई आँखा पोल्ने, श्वासप्रश्वासमा गाह्रो हुने समस्या बढेको थियो ।