१९ जेष्ठ २०८०, शुक्रबार

कुखुरा, हाँस र बट्टाईमा फेरि देखियो बर्डफ्लू



१८ चैत, काठमाडौं । कुखुरा, हाँस र बट्टाईमा पुनः बर्डफ्लु देखा परेको छ । ललितपुरको नख्खुमा कृषकले पालेका पन्छीमा परीक्षण गर्दा बर्डफ्लु देखिएको हो ।

बर्डफ्लु देखिएपछि ५ सय १६ हाँस, ८ सय ५४ स्थानीय कखुरा, १ सय ५४ बट्टाई, ९ सय ४४ अण्डा र ३ सय ३५ किलो दाना नष्ट गरिएको पशु सेवा विभागले जानकारी दिएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण रूपमा निःसंक्रमण गरिएको छ ।

गत माघदेखि काठमाडौं, सुर्खेत र जाजरकोटमा बर्डफ्लु देखिएको थियो । विभिन्न ठाउँमा बर्डफ्लु देखा परेपछि विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अलम्बन गर्न, पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमित रुपमा निःसंक्रण गर्न तथा व्यक्तिगत सरसफाइमा आग्रह गरेको छ ।

घरपालुवा पन्छीलाई जंगली पन्छीको सम्पर्कमा आउन नदिन तथा खुला रुपमा गरिने पन्छीपालनलाई निरुत्साहित गर्न पनि विभागले भनेको छ ।

पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र लिन र पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा नजिकको पशु सेवा निकायमा जानकारी दिन विभागले सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

कुखुरामा बर्डफ्लु देखिए पनि राम्ररी पकाएर मासु उपभोग गर्दा स्वास्थ्यमा असर पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । बर्डफ्लु देखिए पनि बजारमा कुखुराको मासुको मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको