प्रधानमन्त्री ओलीको पक्षमा जसपा
१८ चैत, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली अन्य नेताभन्दा बढी स्पष्ट भएकाले आफूहरू उनको पक्षमा रहेको बताए ।
रिपोर्टर्स क्लब नेपालले हिजो मंगलबार काठमाडौंमा आयोजना गरेको २३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ठाकुरले भने, विगतका धेरै नेताले हाम्रो एजेन्डा सम्बोधन गर्छौं भने पनि अन्तिममा आएर धोका दिएको तर हालका प्रधानमन्त्री ओलीले गर्न सक्नेसम्मका काम गर्ने भनेर स्पष्ट जवाफ दिएका छन् । ‘उहाँ धेरै कुरामा सकारात्मक हुनुहुन्छ तर पनि हामीलाई लिखित सहमति चाहिन्छ’, अध्यक्ष ठाकुरले भने ।
मुलुकमा सबैलाई डेमोक्रेसी आएको हो भने मधेशी र थारूहरू किन अहिलेसम्म पनि जेलमा भन्दै उनले प्रश्न गरे । उनले संविधान संशोधनको विषय आफूहरूको मात्रै नभएर देशकै माग भएको पनि टिप्पणी गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएकै दिनदेखि सरकारमा आउनका लागि आफूहरूलाई आग्रह गरेको सुनाए । तर, आफ्ना माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने जवाफ आफूहरूले दिएको उनले स्पष्ट पारे ।
मंगलबार मात्रै पनि प्रधानमन्त्री ओलीका नजिकका मान्छेले आफूलाई भेटेको ठाकुरले जानकारी दिए ।